सुदर्शन थापा निर्देशित फिल्म 'प्रसाद २' यही चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ।
लामो समयदेखि निर्माण टिमबीच पैसाको कारोबारमा विवाद भइरहेको छ। यसैबीच 'प्रसाद २' का निर्माता सुवास थापाले फिल्म रिलिजका लागि सहज वातावरण बनाइदिन अनुरोध गरेका छन्।
फिल्म रिलिजको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन्।
'प्रसाद २ निर्माणको क्रममै पटक-पटक विभिन्न अवरोध आए। यी अवरोध छिचोल्दै फिल्म निर्माण सम्पन्न गरी माघमै रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघपछिको भाखामा तिर्ने वचनबद्धता प्रकट गरेँ। तर समयमा रिलिज हुन नसक्दा मेरो वचनबद्धतामा म चुकेँ। तथापि अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा फिल्म प्रदर्शनमा सहयोगको लागि सबैमा आग्रह गर्दछु,’ उनले भनेका छन्।
उनले फिल्म रिलिजपछि सबैको पैसा तिर्ने बताउँदै लेखेका छन्, ‘मेरो नियत खराब हैन, नियतिको कारण मैले वचन पूरा गर्न नसकेको हो। फिल्म रिलिजपछि सबै रकम तिरेर आफ्नो भागको रकम लिनेछु। हलबाट आउने रकम सबै फिल्मसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिई बाँकी रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ।'
प्राविधिकदेखि कलाकारसम्मको पैसा नतिरेपछि निर्माता सुवास थापाविरूद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको छ। बोर्डका अध्यक्ष भुवन केसीका अनुसार आज सोमबार दुवै पक्षबीच छलफल कार्यक्रम राखिएको छ।
केही समयअघि यसै फिल्मका पूर्वनिर्माता केशव पाण्डेले थापाविरुद्ध बैंकिङ कसूरको जाहेरी दिएका थिए। थापाविरुद्ध ६२ लाख ५० हजार रूपैयाँको चेक बाउन्स र ठगी गरेको आरोपमा उनले जिल्ला प्रहरी परिसरमा जोहरी दर्ता गरेका थिए।