चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ।
मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रूपान्तरण र जागरण, सचेतना, लैंगिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो।
प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडि सूचना समेत निकालेको थियो। प्रतियोगितामा सहभागि हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी २०८० वैशाख १० गतेसम्म दरखास्तसहित चलचित्र बोर्डको कार्यालय अथवा ईमेलमार्फत पेश गर्नुपर्नेछ।
प्रतियोगिताको लागि उपलब्ध भएका फिल्ममध्ये उत्कृष्ट तीन फिल्महरूले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी एक लाख पचास हजार, एक लाख र पचहत्तर हजार प्राप्त गर्नेछन्। पुरस्कृत फिल्महरूलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरू, विशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ।
प्रतियोगितामा सहभागि हुने फिल्महरू कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता फिल्मकर्मीहरू नेपाली भएको हुनुपर्नेछ। साथै सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका फिल्महरूले मात्र भाग लिन पाउनेछन् र ती फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।