फिल्म रिलिजको पूर्वसन्ध्यामा 'प्रसाद २' को विवाद चर्किदै गएको छ। विवादकै कारण फिल्मको निर्माता समेत फरार भएका छन्।
निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा निर्माता सुवास थापाविरूद्ध प्रहरीमा जाहेरी परेपछि उनी फरार छन्।
गत महिना फागुन २९ गते ‘प्रसाद २’ का निर्माता सुवास थापाविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो। बैंकिङ कसूरको मुद्दामा जाहेरी परेको डिएसपी निरञ्जन भट्टले जानकारी दिए। प्रहरीले उनको खोजी गरिरहेको छ।
उनीविरूद्ध केशव पाण्डेले जाहेरी दिएका हुन्। उनले ‘प्रसाद २’ सेन्सर सम्बन्धी कार्य रोकी पाउँ भन्दै चलचित्र विकास बोर्डमा समेत उजुरी दिएका थिए। पाण्डेलाई ठगी गरेको आरोप लागेका थापाले फिल्मको सुटिङ गरिएको ठाउँको होमस्टेमा समेत पैसा तिरेका छैनन्। होमस्टे र प्राविधिक सहित पैसा नभएको भन्दै थापा विरुद्ध ६ जनाले बोर्ड गुहारेका थिए।
सोमबार बोर्डले दुवै पक्षबीच सहमति गराउने भन्दै छलफलका लागि बोलाएको थियो। बोर्डमा पाण्डे उपस्थित हुँदा सुवास थापा आएनन्। उनको पक्षमा वितरक गोपाल कायस्थ उपस्थित थिए।
बोर्डले फिल्म चलाउने निर्णय गरेसँगै पाण्डेले असहमति जनाएका छन्। 'मैले स्पष्ट रुपमा बोर्ड अध्यक्ष भुवन केसीलाई मेरो अहसमति छ भनेको छु', पाण्डेले सेतोपाटीसँग भने, 'मैले मेरो लगानीको विषयमा बोर्डको छलफलमा कुनै स्पष्ट जवाफ पाएको छैन।'
बैंकिङ कसुरमा फरार रहेका थापाले सामाजिक सञ्जालमार्फत फिल्म रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी गरेका छन्।