फिल्मको प्रमुख आकर्षण नै कलाकार हुन्छन्। त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने चलन छ।
कुनै भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनैले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल बनाउँछ।
फिल्ममा देखिने कलाकारले ती भूमिका कसरी पाउँछन्? वा निर्देशकले कसरी कलाकार र पात्रहरू छान्छन्?
विदेशी फिल्ममा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ। उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिन्छन्।
गत आइतबार साँझ नेपाली कलाकारसँग अन्तर्क्रिया गरेका भारतीय निर्देशक, कलाकार तथा कथाकार डाक्टर चन्द्रप्रकाश द्विवेदीले भारतमा एकै एजेन्सीले लाखौं कलाकारलाई अनुबन्धित गरेर काम दिइरहेको जानकारी दिए।
'मैले पछिल्लो फिल्म 'सम्राट पृथ्वीराज' मा काम गर्दा सम्झौता गरेको एजेन्सीसँग १५ लाख बढी कलाकार थिए। त्यसैले भूमिकामा छनोट हुन सोचेजस्तो सहज छैन,' निर्देशक द्विवेदीले भने, 'यद्यपि केही समययता ओटिटीका लागि बन्ने फिल्म र शृंखलाले ती कलाकारको काम पर्दासम्म ल्याउन मद्दत गरेको छ।'
भारतझैं नेपालमा फिल्मका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन। पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन। यद्यपि ती बजारमार्फत निर्देशित छन्। अभिनेता सुनिल थापाको 'राते काइँला', राजेश हमालको 'शंकर', सौगात मल्लको 'हाकु काले', दयाहाङ राईको 'काजी' लगायत केही चरित्र दर्शकमाझ लोकप्रिय छन्।
कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन्। पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा फिल्मको निर्देशकले तय गर्छन्। अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्ने क्रम बढिरहेको छ। फिल्मको भाषामा उनीहरूलाई 'कास्टिङ डिरेक्टर' भनिन्छ।
नेपालमा फिल्मका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन थालेको निर्देशक दिनेश राउतले बताए।
'सुरूआती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरेँ। सायद त्यो समयमा मैले कलाकार माग गर्न सक्दिनँ थिएँ। त्यसैले काम मात्र गरेँ,' निर्देशक राउतले भने, 'पछिल्लो दुई फिल्म 'प्रसाद' र 'प्रकाश' मा भने भूमिका सुहाउँदो कलाकारको अडिसन लिएर नै चयन गरेको हुँ। किनकि अहिले फिल्म निर्माण शैली फेरिएको छ। साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौं।'
निर्देशनको सुरूआत 'नोभेम्बर रेन' मार्फत गर्दा उनले सबै काम आफैं गर्थे। यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थालेका छन्। उनले पछिल्लो फिल्म 'प्रकाश' मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिएका थिए।
केही फिल्ममा पात्र छनोट वा भनौं निर्देशन गरेका रंगकर्मी केदार श्रेष्ठले विशेषतः स–साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने अनुभव सुनाए।
'मुख्य पात्रका लागि कलाकार छनोट भएपछि सहायक र साना पात्र खोज्दै आउनेको संख्या बढी छ। उहाँहरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु तर केही पूर्ण रूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिन समेत आउनुहुन्छ,' श्रेष्ठले भने।
अभिनेत्री लक्ष्मी बर्देवाले कथापछि पात्र र त्यसको चयन फिल्ममा महत्त्वपूर्ण हुने बताइन्।
'म अडिसन दिन पुग्छु। हामी कहाँ काम नपाउँदासम्म अडिसन दिने र त्यसपछि नदिने चलन छ। तर हामीले आफू सुहाउँदो भूमिका भए अडिसन दिँदा फरक पर्दैन,' अभिनेत्री बर्देवाले भनिन्, 'नेपाली फिल्ममा अडिसन गर्दा बजारलाई हेरेर निर्देशित हुने संख्या धेरै छ। प्रक्रियागत रूपमा पूरा नहुँदासम्म धेरै कलाकार अडिसन दिन तयार देखिनु हुन्न।'
रंगकर्मी श्रेष्ठले निर्माताको दृष्टिकोणअनुसार बजार हेर्नु स्वाभाविक भए पनि पात्र छनोटको प्रक्रिया विस्तारै सही दिशामा अगाडि बढेको बताए।
उनले भने, 'अहिले ध्वनि, प्रोडक्सन डिजाइन, कला डिजाइन लगायतको विधामा निर्देशकले जानकार राखेर काम गर्नुहुन्छ। यो सुखद् पक्ष हो। परिवर्तन हुँदैछ।'
निर्देशक राउतले बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए।
'कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशन भन्दा बाहिर धेरै जान सक्दैनौं। किनकि सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ,' निर्देशक राउतले भने, 'व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका फिल्म अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन्। यद्यपि कलात्मक पाटो हावी भएको फिल्ममा भने प्रयास भएका छन्।'
कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली फिल्ममा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुने गरेको छ। बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ। तर त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको संख्या र पर्दामा हुने महत्त्व निकै कम छ।