मिथिला महोत्सव अमेरिका २०२३ मा प्रदर्शनीका लागि ९ कलाकारहरूको कलाकृति छनोट भएको छ।
‘दिगो विकास लक्ष्यको लागि कलाः मिथिला सम्पदा’ मुल नारासहित अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने महोत्सवमा ९ कलाकारमध्ये ८ जना महिला छनोट गरिएको छ।
महोत्सवमा भगवती सिंह, पूजा सिंह, शैलो यादव, शैली झा, शिभंगी सिंह, श्याम सुन्दर यादव, सुमिन्त्रा यादव, सुनैना कर्ण र उषा कर्णको कलाकृति छनोट भएको हो।
प्रदर्शनीका लागि नेपाल, भारत र अमेरिकामा रहेका कलाकारको कलाकृति छनोट गरिएको मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष तथा मिथिला महोत्सव अमेरिकाका आयोजक अमित प्रताप शाहले जानकारी दिए।
अधिकांश महिला सहभागी कलाकारहरू दुर्गम ग्रामिण क्षेत्रबाट रहेको र यसवर्ष महिला उद्यमशिलतालाई प्रवर्द्धन र आर्थिक सहयोग गर्ने उद्देश्य रहेकोले कलाकृति किनेर सहयोग गरिदिन शाहले अनुरोध गरेका छन्।
मिथिला सेन्टर र अपन फाउनडेसन युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका २०२३ गर्न लागिएको हो।
मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास स्वरूप कार्यक्रम आयोजना गरिने आयोजकको भनाइ छ।
दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ। रामायण र अन्य हिन्दु साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो।