विष्णुकुमार पौडेलले एकैसाथ पाँच सचित्र बाल साहित्यिक पुस्तक बजारमा ल्याएका छन्। ‘मेरो रातु’, ‘पुन्टे स्याल’, ‘सानी र घाम’, ‘मलाई मन पर्छ’ र अंग्रेजी भाषामा ‘निरुज टिथ कम्प्लेइन (नीरुको दाँत दुखेसो)’ नामका यी पुस्तकलाई भुँडिपुराण प्रकाशनले छापेको हो। यी सबै पुस्तक बाल कथासंग्रह हुन्।
‘मेरो रातु’ बेलुनसँग रमाउने एउटी बालिकाको कथा हो। ‘पुन्टे स्याल’मा भोकाएको स्यालले हिरा भेटेपछिको रोमाञ्चक संवाद छ। स्यालले हिरा खान खोज्छ, तर हिराले भन्छ– मलाई खानुभन्दा बजारमा बेचेर आएको थुप्रै पैसाले जीवनभर मोज गर।
‘सानी र घाम’ सानी भँगेरीले कल्पना गरेको वैज्ञानिक रहस्यमाथिको चित्रकथा हो। ‘मलाई मन पर्छ’ कथा भने पाँच वर्षसम्मका बालबालिकाका लागि लक्षित कथा भएको लेखक पौडेलले बताए।
‘नीरुको दाँतको दुखेसो’मा नीरुले दाँत माझ्दा अचानक गिजाबाट रगत आएपछि दाँतसँगको संवाद हो। यसमा के–के खाँदा दाँतमा असर हुन्छ र कसरी दाँत माझ्नुपर्छ भन्नेबारे दाँतले नीरुलाई सिकाउँछ।
अहिलेसम्म ३० बालपुस्तक प्रकाशित गरिसकेका विष्णुकुमारले गिजुभाइका चुनिएका बालकथाहरुको संकलन ‘मुनिया रानी’को समेत अनुवाद गरेका छन्। साठीको दशकदेखि बालसाहित्य लेखनमा सक्रिय उनको विशेषता बाल मनोविज्ञानअनुरुप मनोरन्जनात्मकताको खोजी हो।
‘कथामा मान्छे मात्र नभई जङ्गल, जङ्गलमा बिहान उदाउने सूर्यको कलिलो किरण, शीत टल्किएका दुबोमा निकै खुसी भई उफ्रिने जङ्गलका साना जनावर पनि मेरा कथाका पात्र बन्छन्,’ पौडेलले भने, ‘ती जनावरलाई म प्रेम गर्छु। तिनलाई मित्र भन्छु। तिनीहरू बालबालिकाका प्रिय साथी हुन्। र, तिनैलाई म कथामार्फत् ल्याउँछु।’