लोकरक सांगीतिक समूह नेपथ्यले आफ्नो २५ वर्षे उत्सवको कोसेली शृंखला स्वरुप 'घरको कुरा' को मोबाइल फोनबाट खिचिएको भिडियो सार्वजनिक गरेको छ। १२ वर्षअघिको एल्बम 'घटना' मा समावेश यस गीतको भिडियो नेपथ्यले गत वर्ष आइफोन ब्रान्डको मोबाइलबाट खिचेको हो। यो गीत र भिडियोको संयाेग के भने नेपथ्यले यो गीत सन् २००४ मा अमेरिका यात्रा गर्दा लेखेको थियो भने गत वर्ष अमेरिका यात्राकै क्रममै भिडियो खिचेको हो। यो गीत त्यतिबेला लेखियो, जतिबेला नेपालमा सशस्त्र द्वन्द्व चर्किएको थियो।
नेपथ्यको छैठौं एल्बम प्रकाशित हुँदा एल्बमलाई समालोचकहरुले युद्धको अभिलेख र शान्तिको लागि सांगीतिक प्रयासको रुपमा उल्लेख गरेका थिए।
गीतबारे अमृतले भनेका छन्, 'विदेश जाँदा घरको सुखदु:ख साट्न साथी खोज्दा सबै व्यस्त पाएँ। कार्यक्रमको बेला बोल्न खोज्दा सबै नाच्ने गीत मै रमाउन चाहे। यस्ता घटना विदेश यात्राको क्रममा नियमित भोग्छौं, मन कुँडिन्छ, तर कलाकारको भावना न हो। हाम्रो काम दर्शक श्रोतालाई मनोरन्जन दिने हो, दिनैपर्छ। तर यस्ता कुराले मन बिथोल्छ अनि भावनालाई गीतमा पोख्यो... बस्।'
गीतको भिडियो नेपथ्य सांगीतिक समूहलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले खिचेका हुन्। श्रेष्ठले सुरुमा भिडियो बनाउने उद्देश्यले खिचेको नभई पछिको योजना भएको बताए। '२०१६ को अमेरिका यात्रामा हातमा रहेको फोनबाट लिइएको भिडियो सँगाल्दा सँगाल्दै ती दृश्यहरू यही गीतका लागि उपयुक्त जस्तो लाग्यो, अनि अमेरिका पुगेपछि केहि झलकहरु खिचें ।
पछि नेपाल आएर पदम वज्राचार्यसँग सम्पादन गरेर हेर्दा यस्तो भिडियो बन्यो। मोसन ग्राफिक र शब्दहरु टाइटलको रुपमा राख्दा यस्तो दृश्य युक्त लिरिक भिडियो बन्यो। मलाई आइफोन भिडियोको प्रयोग गर्ने मन थियो, यस भिडियोमार्फत जुर्यो,' किरणले प्रष्ट्याए।
भिडीयोमा अमृत, बिभिन्न ठाऊँ भौंतारी हिँडेको देखिन्छ। बीचबीचमा उनले आफूले गरेको यात्रा र फोटोमार्फत् देशलाई सम्झन्छन्।
गीतको शब्द, संगीत रचना र प्रस्तुति नेपथ्यले गरेको हो भने भिडियो नेपालयको निर्माणमा पदम बज्रचार्यले दृश्य सम्पादन गरेका हुन्। मोसन ग्राफिक र टाइटलिङ कथा सशांक श्रेष्ठको टोलीले गरेको हो।