अनमोल केसीको ‘कृ’ लुक्स सार्वजनिक भएको छ। निर्माता सुवास गिरीले फेसबुकमार्फत् कृको दुइटा फस्ट लुक पोस्टर सार्वजनिक गरेका हुन्। दुवै पोस्टरमा अनमोल एक्लै छन्। यी दुवैले अनमोलको ‘एंग्री लुक्स’ झल्काउँछ।
यस फिल्मबाट बीस लाख पारिश्रमिक लिएको भनी चर्चामा आएका अनमोलले फिल्मभित्र आफ्नो भूमिका र गेटअप कस्तो हुने भन्नेबारे सकेसम्म गोप्य राख्न चाहेका थिए। निर्माणपक्षले उनलाई एक वर्षसम्म अर्को फिल्म खेल्न नपाउने सर्त तेस्र्याएको थियो। यसै फिल्मको तयारीका लागि उनी बाहिर निस्कँदैनथे। घरमै तयारी गरेर बस्थे। लुक्स सार्वजनिक हुने डरले उनी लुकेको चर्चा पनि फिल्मवृत्तमा चलेको थियो।
अनमोलका भनाइमा यस फिल्ममा उनी आफूभन्दा बढी उमेरको भूमिका निभाउँदैछन्। होस्टल हुँदै जेरी, ड्रिम्स, गाजलु गरी जम्मा चार फिल्म खेलेका अनमोल अहिलेसम्म युवापुस्ताको प्रतिनिधित्व गर्ने प्रेम कथानक फिल्ममा मात्र देखिएका थिए। कृमा उनले ‘एक्सन’ दृश्यसमेत दिएका छन्। त्यसैका लागि उनले मार्सल आर्ट सिकेको बताइन्छ।
फिल्मलाई लामो समयदेखि फिल्म सम्पादन गर्दै आएका सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। सुवास गिरीका अलावा अनमोलका बुवा तथा अभिनेता भुवन केसी पनि यस फिल्मका निर्माता हुन्।