अष्ट्रेलियाको मेलर्बनस्थित ‘प्लानेट सेकर्स’ मा शनिबार भब्य प्रस्तुती सहित नेपथ्यले सन् २०१७ को श्रृंखलावद्ध अष्ट्रेलिया यात्राको सुरुवात गरेको छ । जुलाइ २२ सम्म चल्ने सो कन्सर्टको आयोजना यती फुटबल क्लबले गरेको छ जसमा म्याग्दी ओभरसिजले संयोजनकारी भूमिका निभाएको छ।
कन्सर्टको पहिलो दिनमा नै फरक–फरक उमेर समूह र व्यावसायमा आवद्द दर्शकहरुको घुइँचो लागेको थियो। नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङल नेपथ्यले नेपालमा महाभुकम्प आएको भोलिपल्ट नै अष्ट्रेलियामा गरेको कन्सर्टको तितो अनुभव साट्दै यो समय खुलेर कार्यक्रम गर्न सहज भएको बताए। उनले अहिले पनि नेपालमा प्राकृतिक प्रकोपका घटना भईरहेको भन्दै मुलुक भित्र र बाहिर रहेका नेपालीहरुलाई प्राकृतिक प्रकोपले संकटग्रस्त आफ्नो समाजका निम्ति एकजुट हुन आव्हान गरे।
‘आँगनैभरि हिउँनै झरे’ ‘शिरफूल शिरैमा’ जस्ता गीत गाएर उनले दर्शकको मन जितेका थिए। कन्सर्टमा गुरुङले केहि गीतहरु सुनाइसकेपछि बितेको २५ वर्षदेखि नेपथ्यलाई लगातार माया गर्दै आएकोमा दर्शकहरुप्रति आभार प्रकट गरेका थिए।
‘ब्याण्डले आफ्नो स्थापनाको रजत वर्ष मनाउँदै गर्दा यसमा विभिन्न कालखण्डमा आवद्ध भइ योगदान दिने तमाम संगीतकर्मी साथीहरुलाई म फेरि एकपटक सम्झन र धन्यवाद दिन चाहन्छु’, अमृतले भने।
नेपथ्यको मेलबर्नको आयोजना सम्पन्न भएपछि ब्याण्डको यात्रा ‘साउथ अष्ट्रेलिया’ प्रान्ततर्फ हुनेछ। भिक्टोरीयाको प्रान्तिय राजधानी मेलबोर्नबाट टोली अब जोडिएको पश्चिमी भेग पुगेर त्यहाँको प्रान्तिय राजधानी एडिलेडको मञ्चलाई जुलाइ १५ तारिखका दिन तताउनेछ। यस वर्षको अष्ट्रेलिया यात्राको समापन भने सिड्नीमा जुलाइ २२ तारिखका दिन हुनेछ ।
अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।