“मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई
अँगालेर लाशमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।”
रचनात्मक साहित्यिक समूह र ‘त्रिपुरा न्यूज साप्ताहिक’ भक्तपुरले काभ्रेपलाञ्चोक देउपुर घर भई भक्तपुर कार्यक्षेत्र भएका पत्रकार एवं साहित्यकार स्व गुरुप्रसाद ढकालको परिवारको सहयोगार्थ ठिमीमा आयोजना गरेको एकल गजल साँझमा युवा गजलगो विकास प्रहरका गजलले गजलका पारखीलाई नतमस्तक बनायो ।
पत्रकार, साहित्यकार एवं अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य, भक्तपुर क्याम्पस स्ववियुका पूर्व उपसभापतिसमेत रहेका ढकालको कलेजो, हेपाटाइटिस र कमलपित्त रोगको उपचारार्थ आयोजना गर्ने भनिएको गजल साँझ उनको यही साउन ४ गते मृत्यु भएका कारण परिवारको सहयोगार्थ शुक्रबार आयोजना गरिएको थियो ।
ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शुरु भएको कार्यक्रम नेपाली गजलगो रोशनकुमार राजभण्डारीको प्रमुख आतिथ्यता भएको थियो ।
कार्यक्रममा संकलित ६० हजार रुपैयाँ ढकालको परिवारसम्म पुर्याउने गरी ढकालका मित्र चूडामणि पौडेललाई हस्तान्तरण गरियो । कार्यक्रममा विभिन्न वक्ताले ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यस प्रकारका अन्य साहित्यिक कार्यक्रम भक्तपुरमा हुनुपर्नेमा जोड दिएका थिए। रासस