इटालीमा एक २० वर्षीय ब्रिटिस मोडललाई अपहरण गरेर बेच्ने प्रयास भएको घटना सार्वजनिक भएको छ। एक व्यक्तिले ती मोडललाई अपहरण गरेर नियमित ड्रग्स दिएर इन्टरनेटमार्फत बेच्न प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
तर ती व्यक्तिको प्रयास भने असफल भएको प्रहरीले जनाएका छन्। ती मोडललाई अपहरण गरेर बेच्ने प्रयास गर्ने व्यक्ति अहिले प्रहरीको हिरासतमा छन्।
इटालियन जाँचकर्ताका अनुसार पावेल हेर्बा नाम गरेका ती युवकले मोडललाई एउटा कामको अवसर दिएर फोटोसुटको लागि बोलाएका थिए। १० जुलाईमा ती युवती युवकलाई भेट्न जाँदा उनलाई इन्जेक्सन दिएर बेहोस बनाइयो।
अपहरणकर्ताले ती युवतीलाई सुटकेशमा राखेर कारमा हालेर १२० मिल टाढा लगेका थिए। उनलाई जबरजस्ती ड्रग्स दिएर फोटोसुट गराएर उनको तस्वीर इन्टरनेटमा निलामीको लागि राखिएको प्रहरीले जनाएका छन्। उनले ती युवतीलाई ६ दिनसम्म बन्धक राखेका थिए। प्रहरीका अनुसारअपहरणकारीले ती मोडलको निलामी रोक्न मोडलिङ एजेन्सीसँग ४० करोड रुपैयाँ माग गरेका थिए।
अहिले ती मोडल अपहरणमुक्त्त भएकी छन्। अपहरणकारी युवकले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएका छन्। आरोपीको कम्प्युटर र फोनको जाँच भइरहेको छ। यो मुद्दा इटाली, पोल्याण्ड र ब्रिटिसमा चलिरहेको छ।