साहित्यकार प्रा रामप्रसाद दाहालद्वारा लिखित ‘युरोपको यात्रा अक्षरको खेती’ नामक कृति सार्वजनिक भएको छ ।
जर्मनी, इटाली, फ्रान्स, स्वीट्जरल्याण्ड र अष्ट्रियालगायत युरोपका विभिन्न मुलुकको यात्रालाई समेटिएको सो कृतिको परशुराम–शकुन्तला दाहाल स्मृति सेवा प्रतिष्ठान परिवारद्वारा यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक गरे।
कृति सार्वजनिक गर्दै मन्त्री बस्नेतले संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न लेखक, साहित्यकार, बुद्धिजीवीलगायत सबैसँग आग्रह गरे। सो अवसरमा प्रतिष्ठानले मन्त्री बस्नेतलाई सम्मानसमेत गरेको थियो ।
परराष्ट्रविद् डा मधुरमण आचार्यले नेपालको संविधानलाई अन्य छिमेकी मुलुकबीचको छलफलको विषय बनाउन नहुनेमा जोड दिए।
पुस्तकका लेखक प्रा दाहालले विदेशी भूमिमा बस्नेको पनि जीवनप्रतिको आशा, कर्मशील, लगनशील र सिर्जनात्मकतालाई अनुभूति गरेर कृतिमा समावेश गरिएको बताए।
यसैबीच लेखक प्रा दाहाललाई माया नेटवर्क युकेले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि २५ हजार रूपैयाँ छ । रासस