धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार सप्तरीका बाढीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ को पहलमा सप्तरीका विभिन्न छ वटा सरकारी विद्यालयका एक हजार विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयको पोशाक वितरण गरेको हो।
वितरण कार्यक्रममा मनोरञ्जन गराउँदै कट्टेलले भने ‘बालबालिका भविष्यका कर्णधार हुन्। उनीहरुको हेरविचार गर्न, सुरक्षित राख्न र शिक्षामा सबैले ध्यान दिन जरुरी छ।’
फाउण्डेशनले वितरण गरेका सामग्रीमा झोला, १ दर्जन कापी, १ दर्जन पेन्सिल, १ दर्जन कलम, खाजा बाकस, ज्यामिति बाकस, पानी पिउने बोतल छन्।
अहिलेसम्म फाउण्डेशनले तराईका २३ स्थानमा राहत वितरण गरिसकेको जनाएको छ।