खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०७३ को पद्मश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रह 'सगरमाथाको गहिराइ' लाई दिने भएको छ।
यसैगरी वि.सं. २०७२ को पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
पद्मश्री पुरस्कारको मनोनयनमा पराजुलीको 'सगरमाथाको गहिराइ', जनकराज सापकोटाको 'कहर', कुमार नगरकोटीको 'घाटमाण्डु', राज सरगमको 'छाउघर', नवीन विभासको 'रोल्पा सुइना' गरी पाँच कृति परेका थिए।
यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र वरिष्ठ साहित्यकार बैरागी काइँलालाई यो सम्मान दिएको थियो।
दुई लाख राशिको यो पुरस्कार कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।