समालोचक एवं अनुवादक महेश पौड्यालको 'त्यसपछि फुलेन गोदावरी' कथासङ्ग्रह सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार एक कार्यक्रमबीच उक्त कृति प्राज्ञ मातृका पोखरेललगायतले सार्वजनिक गरेका हुन्।
ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा मानवशास्त्रीय चिन्तनका बीस कथा छन् ।
कृतिमाथि बोल्दै समालोचक अभि सुवेदीले पौड्यालका कथाले समकालीन नेपाली सामाजको मनोवैज्ञानिक समातेको बताए । संवेगपूर्ण कथाहरूमार्फत् उनले नेपाली कथायात्रामा एउटा नयाँ शैलीको सुरुवात गरेको बताए । उनले ठाउँ र समयको संवाद पक्रन सकेकाले पौड्यालका कथा उत्कृष्ट रहेको भन्दै पेटीमा आत्मघाती बम बोकेका कथाकारको संज्ञा दिएका थिए।
समीक्षक कुमारी लामाले कृतिभित्रका कथामा नारी पात्रहरुले क्रमश आत्महत्या गर्दै जानु अस्वाभाविक भएको बताइन् । कथामा मृत्युचेत र विस्थापितका समस्यालाई कलात्मक तर डरलाग्दो तरिकाले प्रस्तुत गरिएकाले उनका कथा लेखिरहेका कथाभन्दा पृथक् शैलीका भएको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि मातृका पोखरेलले आफूले पौड्यालको आख्यान पहिलैदेखि पढ्दै र प्रभावित पनि हुँदै आएको बताए । उनले पौड्यालका कथामा वर्ग सङ्घर्ष भएको र कथाले निम्न वर्गका पात्रहरुको बारेमा वकालत गरेको बताए ।
कार्यक्रमका सभापति, त्रिवि अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुृख प्राध्यापक अम्माराज जोशीले पनि महेशका कथाले समाजको अँध्यारो पक्षलाई सतहमा ल्याएको टिप्पणी गरे । पौड्यालले भने समालोचनाले आफ्नो कठोरपक्षमात्रै उजागर गरेको भन्दै कथामा आफ्नो हृदयपक्ष लेखेको बताए ।
कार्यक्रममा कवि नबराज लम्सालको स्वरमा “नर्सरी” शीर्षकको श्रव्यकथा पनि प्रस्तुत गरिएको थियो ।