बसुन्धरा नेसनल एकेडेमी टोखाले आयोजना गरेको छैटौं अन्तरविद्यालय गायन प्रतियोगिताको उपाधी बेबिलोन नेशनल मा. वि. बानेश्वरका विक्रम कार्कीले जितेका छन्।
नेभरउड इङलिस स्कुल मण्डिखाटारका पवन मित्राकोटी दोस्रो र नमुना मच्छिन्द्र मा.वि. की सृष्टी सुवेदीले तेस्रो स्थान हात पारे। माल्यावरेटोरी स्कुलका बबित बस्याल र हिम रश्मि मा.वि.का प्रशन्न पाठकले सान्तवना पुरस्कार पाए।
प्रतियोगितामा उपत्यकाका ४० विद्यालयले भाग लिएका थिए।
काठमाडौं इन्टरनेशनल स्कुल,गौरीघाटका संगित शिक्षक अनोज चित्रकार उत्कृष्ट संगीतकार र राम खतिवडा उत्कृष्ट रचनाकार चयन भए।
विजयी प्रतिस्पर्धीलाई वरिष्ठ गायक कुमार बस्नेतले पुरस्कार र प्रमाणपत्र वितरण गरे।
कार्यक्रममा संगितकार डेनि निरौलाको एकल संगितमा तयार भएको बाल गीति एल्वम 'बाल कुसुम'को विमोचन पनि गरिएको थियो। नेपालको राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला र समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालले संयुक्त रुपमा यो एल्वम विमोचन गरे।
यस वर्ष पनि विजयी प्रतियोगीहरुको गीत रेकर्ड गरी एल्बम निकाल्ने कार्यक्रम संयोजक तथा संगीतकार निरौलाले जानकारी दिए।