हातेमालो साहित्य संगम काभ्रेको नियमित कविता वाचनको आठौं श्रृंखला बनेपामा सम्पन्न भएको छ।
कार्यक्रममा पैंतीस जनाभन्दा बढी कविहरूले कविता, गीत, गजल र कथा वाचन गरेका थिए। वाचित सिर्जनामा देश प्रेम, सामाजिक विसंगति, सामाजिक वेथिति, प्रशासनिक दुरावस्था, वैदेशिक रोजगारले दिएका पीडा लगायतका विषयवस्तु समावेश थिए।
कार्यक्रममा सविना धिमाल, उषा आचार्य, सौगात सहयात्री, अशोक खरेल, दिपक श्रेष्ठ, रामचन्द्र लम्साल, वासु प्राञ्जल, असीम काभ्रे, उद्धव कुमार पोख्रेल, मानन्धर अभागी र राम अविरल विष्टले गजल वाचन गरेका थिए। धेरै गजल राष्ट्रप्रेम र प्रणय प्रेममा आधारित थिए।
अदिप अन्धकार, सरस्वती उप्रेती, सुशीला विष्ट, रोजना हुमागाईं, समर्पण श्री, निश्छल दाहाल, रामकृष्ण पुडासैनी, युगलाल गौतम, विष्णु थापा, अतिप्त प्रकाश, लक्ष्मी कुँवर, कमला डाँगी, नवीन, शिवराम खड्का, परिवर्तन देवकोटा, रविन विष्ट स्नेही र गणेश प्रसाद खतिवडा लगायतका कविले कविता र गजल वाचन गरे।
काभ्रेका कवि निराजन तिमिल्सिनाले कवितालाई मञ्चीय रूपमा प्रस्तुत गरे। कथाकार महेश पौड्यालद्वारा लिखित ‘त्यसपछि फुलेन गोदावरी’माथि अन्तक्रिया गरिनुका साथै समालोचक महेश क्षितिजले संग्रहमा रहेको दृश्यान्तर कथा वाचन गरे।
समालोचक तर्कना शर्माले उक्त कृतिमाथि बोल्दै प्रस्तुत कथाहरूले विसंगति जीवनमा उज्यालोको खोजी गरेको बताइन्। कथाकारले एक्ला र विक्षिप्त पात्रलाई केन्द्रीय भूमिका दिएर न्याय गरेको उनको भनाइ थियो। उनले समाजमा रहेका अन्धकार पक्ष जतिसुकै पूजनीय भएपनि तिनको निर्मुल गर्नु पर्ने सन्देश कथामा रहेको बताइन्।
कथाकार पौड्यालसँग काभ्रेका युवा कविहरूले उनका कृतिबारे छलफल पनि गरे। आफ्नो कृतिले बालक, बूढा, महिला, एकल व्यक्ति र समाजमा पछि पारिएका वर्गको सजीव चित्रण भएको पौड्यालले बताए। छिःछि र दुरदुरमा परेका पात्रको मनोदशा शब्द मार्फत् व्यक्त गर्न पाउँदा आत्मिक सन्तुष्टि मिलेको उनले बताए।
प्रथम साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाले नेपाल हिमालको देश भएकाले हिमाली साहित्यमा जोड दिन आग्रह गरे। संस्थाका अध्यक्ष रमेश घिमिरेले साहित्यमा समाज परिवर्तनको दम हुने भएकाले युवा पुस्ता साहित्यबाट टाढा जान नहुने बताए ।
कार्यक्रम संस्थाका सचिव छवि श्रेष्ठले सञ्चालन गरेका थिए ।