नेपाली फिल्म निर्देशक उगेन छोपेल मलयालम भाषाको फिल्ममा अनुबन्धित भएका छन्। ‘उलु’ नाम राखिएको फिल्ममार्फत उनले अभिनयमा डेब्यु गरेका हुन्।
दक्षिण भारतका प्रख्यात फिल्म निर्देशक तथा छायांकार साजीद एन करुणको निर्देशनमा बनिरहेको फिल्ममा उगेनले तिब्बती भिक्षुको भूमिका निभाइरहेका छन्। निर्देशक करुणका फिल्महरु बिभिन्न फिल्म फेस्टिभलमा रुचाइएका छन्। कान्स, लोक्यार्नोजस्ता प्रतिष्ठित फिल्म फेस्टिभलमा उनले अवार्ड जितिसकेका छन्।
[caption id="attachment_88723" align="alignnone" width="826"]
निर्देशक साजीदसँग उगेन[/caption]
‘साइनो’ मार्फत् निर्देशनमा डेब्यु गरेका सिक्किमका उगेन छोपेलले बलिउडका चर्चित अभिनेता तथा गायक डेनी डेन्जोङ्पालाई नेपाली फिल्ममा पहिलोपटक अभिनय गराएका थिए। छोपेल नाताले डेन्जोङ्पाका भान्जा हुन्।
तीस वर्षअघि रिलिज भएको साइनो निकै चर्चित भएको थियो। साइनोकै कथामा आधारित भएर हिन्दी भाषामा टेलिभिजन धारावाहिकसमेत निर्माण भएको थियो। भारतीय टेलिभिजन दुरदर्शनबाट प्रसारण भएको ‘बन्धु’ धारावाहिकलाई उगेन आफैंले निर्देशन गरेका थिए। यसै नाममा हिन्दी भाषाको फिल्मसमेत बनेको थियो, जुन उति सफल भएन।
दक्षिण भारतीय फिल्ममा काम गरिरहेका साथीमार्फत् अभिनयको प्रस्ताव आएको उगेनले बताए।
‘पहिले स्कुल, कलेज छँदा नाटकमा अभिनय गरेको थिएँ,’ मुम्बईमा रहेका उगेनले सेतोपाटीसँग फोनसम्पर्कमा भने, ‘पछि निर्देशन गरे पनि अभिनयको रहरचाहिँ मरेको थिएन। यसअघि अफर त नआएको होइन, तर यो फिल्मका निर्देशकको जुन नाम छ र भूमिका पनि मन परेकाले अभिनयको प्रस्ताव स्वीकारेँ। मेरो भूमिका लामो छैन, तर फिल्मका लागि महत्वपूर्ण छ।’
अभिनय गर्नु चुनौतिपूर्ण रहेको उगेनको अनुभव छ। ‘अभिनय गर्नु गाह्रो रहेछ,’ उनले भने, ‘तर, म आफैं बौद्धमार्गी भएकाले र भिक्षुहरुलाई सानैदेखि देखेकाले यो भूमिका निभाउन मलाई उति गाह्रोचाहिँ भएन। फरक जीवन बाँच्दा रमाइलो अनुभव भइरहेको छ।’
[caption id="attachment_88724" align="alignnone" width="640"]
मेकअप गर्दै उगेन[/caption]
फिल्मको मूल भाषा मलयालम भए पनि उगेनको संवाद भने अंग्रेजीमा हुनेछ। उनी अनुसन्धानका क्रममा तिब्बतदेखि दक्षिण भारत पुगेका हुन्छन्। फिल्ममा उनले भूमिका निभाइरहेको पात्रले हजार वर्षअघि दक्षिण भारतमा बौद्ध धर्मको प्रभावको कुरा गर्ने उगेनले जानकारी दिए।
‘बादलपारी’पछि फिल्मक्षेत्रबाट टाढिएका उगेनले अबको एक/दुई वर्षभित्रै फिल्म निर्देशनमा फर्किने बताए। ‘धेरै वर्ष अघिदेखि अबचाहिँ कमब्याक हुनुपर्छ भनेर सोच्दै आएको हो,’ उगेनले भने, ‘व्यावसायिक र पारिवारिक कारणले भ्याइएन। केही निर्मातासँग कुरा भइरहेको छ, सम्भवतः एक/दुई वर्षभित्रै नेपाली फिल्म निर्देशन गर्नेछु।’