उपत्यकामा असोज ११ र मोफसलमा २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘मेरो पैसा खोई ?’ को ट्रेलर रिलिज भएको छ ।
ट्रेलरमा नायिका वर्षा राउत यौनकर्मीको भूमिकामा प्रस्तुत भएकी छिन् भने सौगात मल्ल उनको पछि-पछि लागेका छन् । ट्रेलरले विशेषत यौनकर्मी महिलाहरुको कथा बोल्छ । यो फिल्मलाई उपत्यकामा श्रीराम बालाजी पिक्चर्स र मोफसलमा एफडी कम्पनीले वितरण गर्न लागेको हो । ‘मेरो पैसा खोई ?’ असोज ११ गते राजधानीका हलहरुमा 'छक्का पन्जा २' सँग भिडन्त गर्दैछ ।
फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रोज राणाले फिल्मको निर्देशन सम्हाल्नु अगाडि मेरो पैसा खोई ? लाई बलिउडको सफल फिल्म 'भुतनाथ'का निर्देशक विवेक शर्माले निर्देशन गर्ने पक्का भएको थियो । तर, विवेकले १६ दिनसम्म खिचिएको फिल्मको सबै फुटेज डिलेट गरेर भारत भागपछि रोजले यो फिल्म निर्देशन गरेका हुन् ।
फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् । यसअघि 'जय परशुराम' निर्देशन गरेका रोजले ‘मेरो पैसा खोई ?’ कमेडी प्रधान फिल्म रहेको बताए ।
https://www.youtube.com/watch?v=suyLmuRvyww