हामी त्यसै आएनौ गोपाल सरले खटाए
तेल भण्डारण गर्ने जमिन खोज्न पठाए।
दुई लाख पर्ने जमिनलाई २० लाख खनखन गन्या छन्
गोपाल सरलाई गोपाल सरले स्यावास भन्या छन्।
अर्का गोपाल शिक्षा मन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास् भन्दै शिक्षाकै ढाड भाँच्दैछन्।
कर आयोग नै मारेर शर्मा महत कमाउँछन्
कसले छुने ठाउँठाउँमा थैली चढाउँछन्।
समाजवादी बाटोमा देउवा इँटा छाप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन्।
देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रीमण्डल बोइलरको बथान जस्तो छ।
केही मन्त्री आउनुभो केही मन्त्री जानु भो
सबै मन्त्री अटाउनलाई हलै सानु भो।
विविसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो।
राहत बाँड्न जानुभो हेलिकप्टर चढ्नुभो
भाषण पढ्न खोज्दा लभ लेटर पढ्नुभो।
भ्रष्टले नि चुनाव लड्ने झण्डै बन्यो नि..यम्
बिफल भयो छक्क परे दाजु राधेश्याम।
सांसद हुन्जेल विकास बजेट छाडेपछि पेन्सन
दुइटै उम्क्यो हेर्दाहेर्दै भयो टेन्सन।
प्रधानमन्त्री कुल्चिन्छन् माड्छन् आचारसंहिता
आयोग रुन्छ हामी त हेछौँ रमिता।
संवैधानिक आयोग हो कि रुन्चे लाग्या बालक
अलिकति लाज मान देशका चालक।
अनुदानको रासन हुम्ला जुम्ला पुग्दा कुहिन्छ
आधा पुग्छ मुखमा आधा अन्तै चुहिन्छ।
बाटोे छैन बत्ती छैन कर्णालीका पाखामा
फुलो रैछ राजधानीको हेर्ने आँखामा।
पुनर्निर्माण सिइओ टिकट लेर कुलेलम
वर्षौँदेखि छाप्रोमै पीडित जिल्लाराम।
हाम्रो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको
कदर गर्न राज्यले खोइ त जानेको!
श्रमिक सधैँ सकसमा कति आउँछन् बाकसमा
रोजगार जुटाउँ आफ्नै धर्ती आफ्नै आकाशमा।
चुनाव आउँदा मधेशी बाढी आउँदा परदेशी
काठमाण्डूमै भुनभुन गर्छन् मन्त्री पाएसी।
बिहान फोरम दिउँसो काँग्रेस साँझ हुन्छन् एमाले
मधेश कैले बन्छ ठाकुर यस्तो पाराले।
मधेशको मुहार् फेर्न देखाऊ केही गरेर
हुन्न भलाई दिल्लीको शरण परेर।
भरतपुरका कांग्रेस दाजै भोट कता हाल्या थ्यौ नि राजै
जिताउने एउटाले, बिताउने अर्कैले
तुमको ऐले कैसा लगता है ......
गठबन्धन तोडि गयौ, मलाई एक्लै छोडी गयौ नि लै लै
कि लाऊ माया मै तिर कि लाऊ माया उही तिर
क्याबिनेट से क्यूँ नहीँ हट्ता है । ..
बेलाबेलै खप्की खान्छन् प्याच्च पुच्च बोलीले
दुई नम्बरमा झण्डै चिम्टा बोके ओलीले।
गुण्डा डनले टिकट पाए एमालेमा पसेर
चरी–घैँटे रुँदा हुन् माथि बसेर।
इन्काउण्टरमा परेर तिनीहरू मरिगए
इन्काउन्टरमा नपर्ने चाहिँ मन्त्री हुने भए।
दिपक मनाङ्गेलाई आउँदो गृहमन्त्री बनाइदेऊ
नबराज सिलवाललाई गृह राज्य देऊ
केपी ओली प्रचण्ड मिले भन्छन् रातारात
हिजोसम्म काटाकाट आज चाटाचाट ।
खोक्रो थियो राष्ट्रवाद भरिलो भो पुटुक्कै
छिनको छिनमै लम्पसारवाद उठ्यो जुरुक्कै।
माओवादी सिङ्गै एकनाथ चुरेभावर एमाले
पासवान गुप्ता त्रिपाठी माले मशाले
आलु केरा पिँडालुमा नूनखोर्सानी खन्याए
नयाँ नेपाल कम्निष्ट पार्टी ‘सलाद’ बनाए ।
एमाले र माओवादीको लगनगाँठो बरिलै
दुई दिनको रामछाया कि जुनी भरिलाई ?
तिमी आफैँ मिल्यौ कि मिलाउनेले मिलायो?
दुइटा मिल्दा कांग्रेसको आङ किन चिलायो?
गर्मी हुँदा रुखतिर जाडो आउँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान् धामतिर ।
बाबुरामको नयाँ पसल वर्षदिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घर न घाट भो।
तिहारको किनमेल गरौँ दरबारमार्ग बजारमा
सत्र सयको जुत्तालाई चौबिस हजारमा ।
जति भन्छन् त्यति पैसा तिरी फुत्त भाग्नु है
नत्र कुट्लान् व्यापारीले चुप लाग्नु है ।
बैंकहरू खुरुखुरु ब्याज मात्रै बढाउँछन्
गभर्नरज्यू तपाईँलाई के के चढाउँछन् ?
सरकार किन्ने पार्टी किन्ने टियु किन्ने अन्सारी
अपार्टमेन्टलाई अस्पतालमा गरे नामसारी ।
मेडिकलका माफियाले सरकार उठबस गराउँछन्
कारबाही गर्ने निकायलाई घाँस चराउँछन् ।
फ्रुटी बेच्ने दुगड दाजु रैछौ साह्रै बफादार
झोल किन्ने ग्राहकलाई चोक्टा उपहार ।
विश्वधनी सूचीमा विनोदले नाम टल्काए्
कर छल्न यता उद्योग टाट पल्टाए ।
उद्योगी र व्यापारीले राज्यमा दाइँ गर्दछन्
नेता उनकै दाना खान आईँ गर्दछन् ।
मोबाइल देनन् मेयरसावलाई मोटर देनन् चढ्नलाई
बाधा गरे विरोधीले अघि बढ्नलाई ।
हावा हाने फुस्स फुस्स एउटै अण्डा पारेनन्
केको विद्या केको सुन्दर माखै मारेनन्।
(
सिस्नुपानी नेपालको देउसीको सम्पादित अंश)