सर्वनाम थिएटरले १० मिनेट नाटक मेलाको तेस्रो संस्करण घोषणा गरेको छ।
इच्छुकलाई नाटकको एकसरो कथासहित मंसिर २० गतेसम्म कालिकास्थानस्थित नाटकघरमा उपस्थित भइ नाटक दर्ता गर्न सर्वनामले आह्वान गरेको छ। नाटक मेला मंसिरको तेस्रो साता आयोजना हुने सर्वनामले जनाएको छ।
आफूले जीवनभर ‘स्पेस’ को अभावमा भौतारिनु परेको अनुभव सम्झँदै सर्वनामका निर्देशक अशेष मल्लले अबका रंगकर्मीले त्यो अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले दश मिनेट नाटक मेला आयोजना गरेको बताए। ‘दश मिनेट सिर्जना अभिव्यक्तका लागि पर्याप्त नहोला, तर थोरैमा धेरै भन्न सकिने अवसर पनि हो,’ उनले भने, ‘अबको नाटक लघुनाटक, एकाङ्की वा पूर्णाङ्कीमा विभक्त ह“ुदैन। नाटक नाटक हो, चाहे तीन घण्टा होस् वा दश मिनेटको। यो नाटकको संक्षेप होइन, स्वयममा पूर्ण हो।’
मेलालाई सर्वनामकै रंगकर्मी राज शाहले संयोजन गर्नेछन्। ‘यो नाटक मेला आयोजना गर्नुअघि हामी सफल होला कि नहोला भन्ने द्विविधामा थियौं,’ संयोजक शाहले भने, ‘पहिलो संस्करण नै सफल भएपछि हामीमा हौसला बढ्यो।’