५४ वर्षको उमेर र ५० वर्ष लामो अभिनय यात्रा, करिब ३ सय बढि फिल्म। सबैलाई स्तब्ध पार्दै शनिबार यो दुनियाँलाई अचानक अलविदा भनेकी भारतिय अभिनेत्रीको पहिलो लाइनमा उल्लेखित तथ्याङभित्र अनेकौ अकंगणित छन् जसको भारतिय फिल्म उद्योगमा लामोसमयसम्म हिसाबकिताब भइराख्नेछ।
हिन्दुस्तानटाइम्सको अनलाइन संस्करणमा रोहित वत्सले यस्तो भनेका छन्, 'अभिनेत्री श्रीदेवी एक अभिनेत्रीमात्र नभएर एउटा मानक हुन् ।८० र ९० को दशकमा हुर्केका पुस्ताले उनलाई एउटा 'चार्म' र प्रभावशाली अभिनेत्रीका रूपमा सदैव सम्झिरहनेछन्। उनी एउटा 'फेसन आइकन' भन्दा बढि हुन्।'
५४ वर्षको समयमा ५० वर्ष फिल्ममा आफ्नो फरक प्रभावलाई राख्दै उभिइरहनु एउटा कलाकरको लोभलाग्दो सफलता हो। सन् १९६३ मा श्री अम्मा एङ्गर अयप्पन बनेर जन्मेकी उनले फिल्मी क्षेत्रमा श्रीदेवी नामबाट मुकामहरू हासिल गरिन्। उनी बलिउड मात्रको विराशत थिइनन्। तमिल भाषाको एक धार्मिक फिल्ममा ४ वर्षको उमेरमा काम गरेकी श्रीदेवीको सफलता तमिलसँगै तेलेगु, मल्यालम तथा कन्नड जस्ता दक्षिण भारतिय फिल्महरूमा पनि उस्तै फैलिएको छ।
एक किसिमले श्रीदेवी अरू मानिसहरू जस्तो सामाजिक जीवनमा हुर्किनन्। उनी फिल्ममै हुर्किन, बढिन र बितिन भन्दा फरक नपर्ला। फिल्मी पर्दामा दर्शकहरूले उनलाई जवान श्रीदेवीका रूपमा परिचय पाए। १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेदेखि नै पर्दामा उनी सयौं युवा ढुकढुकीको सपना हुन थालिन्। शीघ्र फिल्म प्रवेशले उनलाई भारतको पहिलो महिला स्टार बनायो।
फिल्ममा उनको उपस्थिति कुनै पनि निर्माताको लगानी सुरक्षित हुने बलियो आधार बनिदियो। पुरूष सुपरस्टारको जगजगीमा एउटा महिला अभिनेत्रीको यो स्थान आफैमा एउटा विशिष्ट अवस्था हो। नत्र भने पारिश्रमिकका रूपमा पुरूष कलाकार भन्दा महिला कलाकारको नगन्य पारिश्रमिक हुँदा उनले करोड भारू पारिश्रमिक लिने पहिला महिला कलाकारको नाम त्यतिकै दर्ज गराउने थिइनन् होला।
उनी फिल्मकै लागि जन्मिएकी थिइन। अन्यथा १३ वर्षको कलिलो उमेर महिला कलाकारका लागि नायिकाका रूपमा अभिनय यात्रा थालनी कदाचित स्वभाविक होइन तर श्रीदेवी त्यो बाटो हिडिन्। पहिलो फिल्म 'मुन्दुरू मुटडिचु'मा काम गरेपछि श्रीदेवीले त्यसपछिका दुई वर्षमा क्रमश: १० भयाथिनिले' तथा 'सिगप्पु रोजक्कल' फिल्ममा काम गरिन्।
'सोला साभन'(१९७८) फिल्मबाट उनको बलिउड यात्रा सुरु भयो। यो उनका लागि एउटा स्वभाविक परिवर्तन थियो। बलिउड आइसक्दा श्रीदेवीको ठूलो नाम भइसकेको थियो। उनी तमिल फिल्म उद्योगकी सर्वाधिक ठूलो महिला स्टार बनिसकेकी थिइन्। उनले तमिल सुपरस्टार कमल हसन तथा रजनीकान्तसँग काम गरिसकेकी थिइन्। ती फिल्ममा पनि उनको ओज ती सुपरस्टारको छायाँमा हराएन, उनी छुट्टै 'मार्क' भइन्। चाहे ती जी एन रङ्गराजनको 'मिनदुम कोकिला' होस या बलु महेन्द्रको 'मुन्दरम पिराइ' फिल्म हुन्।
तर बलिउडले उनको त्यो सिमित चर्चालाई धेरै फराकिलो बनाइदियो। त्यस्तो परिचय श्रीदेवी अघि अन्य कुनै बलिउड 'हिरोइन'ले पाएका थिएनन्। सन् १९८३मा जब 'हिम्मतवाला' रिलिज भयो तब उनी एउटा चट्याङ् जसरी फिल्म उद्योगमा धमाकेदार शैलीमा ओर्लिन्। रातारात उनी धेरैको अनुमान विपरितको चर्चामा पुगिन्।एकैपटक धेरै मानिसका मुखमा मुखरित भइन्। फिल्म त्यो वर्षको सर्वाधिक सफल फिल्मका रूपमा नामाकिंत भयो। अर्को वर्ष रिलिज भएको 'तोह्फा'ले त्यही सफलतालाई पुनरावृत्ति गर्यो।
श्रीदेवीको व्यवसायिक फिल्मी यात्रा रोलका हिसाबले त सशक्त थियो नै उनी अभिनित फिल्मले निर्माताहरूको खल्ती पनि राम्रै गरी गरम गराउन उत्तिकै सफल थिए। एउटा अभिनेत्रीका लागि एकै वर्ष 'सद्मा' र 'हिम्मतवाला' जस्ता फिल्म रिलिज हुनु जस्तो दोहोरो खुशीको अवस्था आफैमा एउटा मानक हो: समिक्षकिय र व्यवसायिक सफलताको मिश्रण।
'नागिना', 'कर्मा' तथा 'जानबाज' रिलिजले श्रीदेवीलाई नि:सर्त भारतको नम्बर एक अभिनेत्री बनायो। त्यस्तो अर्को कोही थिएन। पुरूष कलाकार धेरै पर थिए जसले उनको चर्चाको बराबरी गरोस्। त्योबेला अमिताभ रिङआउट जस्ता भइसकेका थिए भने मिथुन चक्रवर्ती तथा अनिल कपुर जस्ता अभिनेता अमिताभपछिको रिक्त स्थानमा आफूलाई उभ्याउन संघर्षरत: नै थिए।
श्रीदेवीले हेमा मालिनीको रिक्त्तालाई पूरा गरिन्। तथ्यगत रूपमा भन्नुपर्दा उनी नै हिन्दी फिल्मको पहिलो आधिकारिक महिला सुपरस्टार भइन। उनको त्यो ठाउँलाई परिपूर्ति बलिउडले माधुरी दिक्षितलाई कुर्नुपर्यो।
सन् १९८७मा 'मिस्टर इन्डिया' रिलिज भयो। फिल्मको सबैभन्दा ठूलो चुम्बक श्रीदेवी थिइन। उनको 'हवा हवाई' गीत आँधि गतिमा भारतभर चर्चित बन्यो। प्रत्येक पारिवारिक एवं सामाजिक उत्सव उनको त्यो गीत बिना चलेन भन्दा पनि हुन्छ। उनको नक्कल उतार्दै ती क्षणहरूलाई मानिसहरूले विशेष बनाए। हालै रिलिज भएको 'तुम्हारी सुलु'मा रिमिक्स गर्दै राखिएको गीतले त्यसको पुरानो लोकप्रियतालाइ फेरी ताजा गराउनुले त्यो गीतको लोकप्रियता बुझ्न सकिन्छ।
श्रीदेवीको घरमा निर्माताहरूको लाइन लागि नै रह्यो। सन् १९८३ देखी १९८७ सम्म उनी ३३ फिल्ममा आइन्। ती वर्षहरूमा प्रत्येक महिना उनका एक फिल्म रिलिज भइरहे। यसबाट उनी कुन गतिमा काम गरिरहेकी थिइन भन्ने बुझ्न कठिन हुँदैन्।
यो समय जहाँ 'शेर्नी' तथा 'नाकाबन्दी' जस्ता फिल्म आए त्यहाँ उनका 'चाँदनी', 'लम्हे', 'खुदा गवाह' जस्ता फिल्मले पनि आफ्नो जोडदार पिटारा पिट्न सफल भएका थिए। ९० को दशकमा उनको फिल्मी सिताराको चमक यस्तो थियो की उनले त्यो समयका हर स्टारसँग काम गरिन्। उनको मिथुनसँगको सम्बन्ध भलै टिक्न सकेन तर उनको स्टारडम भने उस्तै टिकी रह्यो।
यस्तैमा निर्माता बोनी कपुर उनीसँग जोडिए। यसै समयमा महत्वाकाक्षी फिल्म 'रूपकी रानी चोरोका राजा' (१९९३)मा रिलिज भयो। फिल्म त्यो समय सर्वाधिक महँगो १.५ करोड भारूमा बनेको थियो। फिल्म फ्लप भयो। फिल्म फ्लप भयो तर बोनी र श्रीदेवीको जोडी हिट भयो।
माधुरी दिक्षित तथा जुही चावलाको आगमनले उनको प्रतिष्पर्दालाई कठिन बनाउन थालिसकेको थियो। त्यो समयमा 'लाड्ला'(१९९४) मात्र हिट हुन सक्यो। फिल्मको असफलता. श्रीदेवी जस्ती अभिनेत्रीका लागि बलिउडलाई 'गुडबाई' गर्ने स्थिति थिएन। उनी त्यसरी फिल्मबाट टाढा हुन चाहदिन थिइन्। १९९७ मा 'जुदाई' रिलिज भयो। फिल्म हिट भयो। श्रीदेवीले हिट फिल्मसँगै बलिउडलाई छोडिन्। उनले परिवारतर्फ आफ्नो ध्यान केन्द्रित गरिन्।
तर यो फिल्मको मध्यान्तर जस्तै थियो, श्रीदेवीका लागि। सन् २०१२ मा उनले बलिउडमा सेकेण्ड इनिङको सुरूवात गरिन्। उनले 'इङ्लिस भिङ्लिस' फिल्ममा अभिनय गरिन्। फिल्मबाट उमेरले उनलाई थकाएको छैन भनेर प्रमाणित गरिन्। उनको अभिनयले दर्शकको मन फेरि जित्यो। केहिले फिल्ममा निर्वाह गरेको त्यो भूमिकालाई उनको अभिनयजीवनकै उत्कृष्ट काम भनेर समेत प्रशंसा गरे। 'पुली' फिल्मले २०१५ मा तमिल फिल्ममा झण्डे दुई दशकपछि फेरि जोड्यो।
अन्तिपटक उनलाई गत वर्ष 'मम' फिल्ममा देखियो। दर्शकले उनलाई फेरि मनपराए। दुई छोरीकी आमाका लागि यो वर्ष विशेष हुनेवाला थियो। तर यसैविच उनले धर्तीबाट अचानक बिदा लिएपछि त्यो विशेष क्षण हेर्न पाउने छैनन्। उनी जेठी छोरी जान्हवी कपुर यसै वर्ष बलिउडमा डेब्यू गर्नेवाली थिइन्। जीवनको अन्तिम घडीमा यी आमाछोरी एकअर्काबाट माइलौ टाढा थिए। जान्हवी आफ्नो फिल्मको सुटिङमा मुम्बईमा नै व्यस्त भएकाबेला श्रीदेवी अन्यासै संसार छाडिन्। धेरैले जान्हवीले आफ्नी आमाको विराशत थाम्ने कामना गरेका छन् जसको प्रारूप केहि वर्षमा हुने नहुने देखिने छ।
हिन्दी सिनेमा उद्योगले उनलाई 'स्विच अन- स्विच अफ' अभिनेत्री भन्द्थ्यो। किनकी कलाकारका रूपमा श्रीदेवीसँग आफ्ना निर्देशकका लागि जस्तो चाह्यो त्यस्तै हुन सक्ने खुबी थियो। उनी निर्देशकको कलाकार थिइन्। उनको अल्पायुको निधनले धेरै शोक दिएको छ। तर कालान्तरसम्म श्रीदेवी एउटा संख्या भन्दा पनि एउटा नाम, त्यो पनि आफ्नै विशिष्ट परिचय बोकेकी अभिनेत्रीका रूपमा दर्शकको मनमा रहिरहनेछिन्। अभिनेत्रीको चर्चा हुँदा भारतिय फिल्म उद्योगले उनको सँधै सम्झना गरिनै रहनेछ किनकी उनको चर्चा बिना भारतिय फिल्म उद्योगमा अभिनेत्रीको चर्चा सँधै अपुरो नै हुनेछ।
अलबिदा सुपरमुन श्रीदेवी
(अशेष अधिकारी: एजेन्सी सहयोगमा)