यौन उत्पीडनको आरोप लागेपछि बलिउडको सेलिब्रेटी व्यवस्थापन एजेन्सी क्वान इन्टरटेनमेन्टका सह-संस्थापक अनिर्बन दास ब्लाहले आत्महत्या गर्ने प्रयास गरेका छन्। ब्लाहले शुक्रबार मुम्बईको वाशीस्थित पुरानो पुल नजिकै आत्महत्या गर्ने प्रयास गरेको भारतीय संचारमाध्यम एनडिटिभीले जनाएको छ।
उनले शुक्रबार राति १२:३० बजे सो प्रयास गरेको वाशी यातायात पुलिसले जनाएको छ। ब्लाहलाई एक महिलाले यौन उत्पीडनको आरोप लगाएपछि एजेन्सीबाट हट्न भनिएको थियो।
प्रहरीले आत्महत्या गर्नका लागि उनी सडकको बैरिकेडमा चडिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्दा प्रहरीले जनाए अनुसार ब्लाह रूदैथिए। उनी एकदमै निरास, हतास र उदास देखिन्थे। पक्राउ गरेर प्रहरीमा लगिएका उनले आफू यौन उत्पीडनको आरोपबाट निराश भएकाले सो कदम उठाउन लागेको बयान दिएको प्रहरीले बताएको छ।
उनले नौ जनाको साझेदारीमा सो सेलेब्रेटी व्यवस्थापन कम्पनी खोलेका थिए जसमध्येका चार महिलाले उनीमाथि यौनउत्पीडनको आरोप लगाएका थिए। आरोपपछि उनलाई कम्पनी छाड्न भनिएको थियो।
प्रहरीले ब्लाहलाई उनकी श्रमतीको जिम्मा लगाएर छोडिएको पनि समाचारमा उल्लेख छ। पुलिसले आत्महत्या मामिलामा उनी माथि कुनै मुद्धा नलगाएको बुझिएको छ।
ब्लाहको सो कम्पनीले ऋतिक रोशन, रणवीर कपुर, टाइगर श्राफ, दीपिका पादुकोण, सोनम कपुर, श्रद्धा कपुर तथा ज्याकलिन फर्नानडिज जस्ता बलिउड स्टारहरूहरूको व्यवस्थापन गर्दै आइरहेको छ।
पछिल्लो समय हलिउडबाट सुरू भएको यौन उत्पीडनविरूद्धको 'मिटु' अभियानमा यतिबेला थुप्रै बलिउड स्टार तथा ठुला व्यक्तिहरूको नाम मुझिएको छ।