भारतका वरिष्ठ पत्रकार विनोद कापडीको निर्देशनमा तयार भएको नयाँ सिनेमा 'पिहु'को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा २ वर्षिया बालिका घरमा एक्लै हुँदाको दृश्य देखाइएको छ। ट्रेलरमा सानी केटीले घरमा एक्लै हुँदा जानअनजानमा गरेका कामले निकै समस्या भोग्नु परेको देखिन्छ। दुई वर्षे बालिका मिरा विश्वकर्माको अभिनयले दर्शकलाई आङ जिरिङ्ग पार्छ।
पूरै फिल्मभर सानी नानीको अभिनय देखाउनु चुनौतीपूर्ण रहेको निर्देशक कापडीले बताएका छन्। उनीहरूले दैनिक दुई घन्टा सुटिङ गरेको उनी बताउँछन्। सुटिङकै लागि मिरा र उनका आमाबाबु फिल्ममा देखाइएको अपार्टमेन्टमै सरेका थिए। वरपर देखिएका खेलौना पनि मिराकै हुन्।
मिरा सानी भएकीले अर्को टेकका लागि उनलाई भन्न नसकिने भएकाले उनको वरपर तीन वटा क्यामरा राखेर खिचिएको कापडीले बताएका छन्।
सन् २०१५ मा सुटिङ गरिएको यो फिल्म अपार्टमेन्टमा एक्लै परेकी एक बालिकाको वास्तविक घटनामाथि बनेको हो।
सामाजिक थ्रिलर फिल्मको श्रेणीमा राखिएको यस फिल्मले भारत र भारतबाहिर थुप्रै अवार्ड जितिसकेको छ।
ट्रेलरमा दर्शकहरूले उत्साहजनक प्रक्रिया जनाइरहेका छन्। फिल्मले इरान, भ्यानकुवर, पाम स्प्रिङ्स, मोरोक्को तथा जर्मनीमा भएका फिल्म समारोहहरूमा प्रशंसित भइसकेको छ।