अभिनेता अक्षयकुमार र रजनीकान्तको मुख्य भूमिका रहेको फिल्म ‘२.०’ नोभेम्बर २९ मा रिलिज हुँदैछ। तर, रिलिज नहुँदै यो फिल्मले ‘बाहुबली–२’ को रेकर्ड तोडिसकेको छ।
रजनीकान्तको फिल्म रोबोटको श्रंखला ‘२.०’ भारतका ६६ सय देखि ६८ सय स्क्रिनमा रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जबकि ‘बाहुबली–२’ करिब ६५ सय स्क्रिनमा लागेको थियो। योसँगै २.० सबभन्दा बढी स्क्रिन पाउने फिल्म बनेको छ।
बाहुबली ३१ हजार शोसहित रिलिज भएको थियो। यता २.० भारतभर ३२–३३ हजार शोसहित रिलिज हुने सञ्चारमाध्यमले जनाएका छन्।
दुई घन्टा २८ मिनेटको फिल्म २.० विश्वका दस महँगा फिल्ममध्ये एक हो। यो सूचीमा २.० नवौं स्थानमा छ। भारतमा भने हालसम्मकै महँगो फिल्म हो।
हिन्दी, तामिलनाडु र तेलेगु भाषामा रिलिज हुने यो फिल्मको ‘भिएफएक्स’ मा निकै मिहिनेत परेको निर्माताहरूले जनाएका छन्। यसका साथै संगीतमा ‘४ डी’ प्रविधि प्रयोग भएको बताइएको छ। फिल्मको ब्याकग्राउन्ड स्कोर तयार गर्न संगीतकार एआर रेहमानलाई १५० दिन लागेको सञ्चारमाध्यमहरूले लेखेका छन्।
२.० ले रिलिज हुन अगावै पैसा कमाउन थालिसकेको थियो। यसको स्याटेलाइट अधिकार ११० करोड भारूमा बिक्री भएको थियो। यसका साथै निर्माताहरूले ८० करोड भारूमा यसको ‘थिएट्रिकल’ अधिकार बेचेको पनि बताइएको छ। सर्सती हेर्दा, फिल्मले रिलिज अगावै करिब २ सय करोड भारू कमाइसकेको छ।
२.० ले बाहुबलीको सँगै अरू रेकर्डहरू पनि तोडेको छ। यो फिल्मको एड्भान्स बुकिङ १२० भारू मा भएको छ। विश्लेषक रमेश बालाका अनुसार तामिल फिल्मको इतिहासमै यो सबभन्दा ठूलो बुकिङ हो।
(भारतीय सञ्चारमाध्यमका सहयोगमा)