आगामी वर्ष भारतिय स्वतन्त्रता दिवसको दिनलाई रिलिज मिति घोषणा गरिएको अक्षय कुमारको फिल्म 'मिसन मंगल' सुटिङमा जानुअघि नै विवादमा परेको छ।
मुम्बई मिररमा प्रकाशित समाचारका अनुसार अमेरिका बस्ने राधा भारद्वाजले फिल्म रोक्न माग गरेपछि सो फिल्म समस्यामा परेको हो। भारद्वाजले फिल्मको स्क्रिप्ट आफ्नो स्क्रिप्टबाट चोरी गरिएको दाबी गर्दै मुद्धा हालेकी छन्।
सो उजुरीमा उनले आफ्नो अनुमति बेगर अतुल कासबेकरले अभिनेत्री विद्या बालनलाई स्क्रिनप्ले सुनाएको आरोपसमेत लगाएकी छन्।
फिल्ममा अक्षयसँगै सोनाक्षी सिन्हा, विद्या बालन, तप्सी पन्नु, सरमन जोशी, कृति कुलहारी तथा नित्यामेननले अभिनय गर्ने घोषणा भइसकेको छ।
मिडिया रिपोर्टका अनुसार भारद्वाजले अक्षयको सो फिल्मले प्रतिलिपि अधिकारको हनन गरेको बताएकी छन्। उनका अनुसार उनले सो स्क्रिप्ट कस्बेकरलाई सन् २०१६ मा सुनाएको दाबी गरेकी छन्।
उनले सो स्क्रिप्टका लागि विद्यासँग पनि कुराकानी भएको बताएकी छन्। कबास्करको टोलीले फिल्मका लागि विद्यासँग कुरा अगाडी बढाउने काम गरेको थियो।
समाचारका अनुसार भारद्वाजले सो स्क्रिप्ट अमेरिकाको प्रतिलिपि अधिकार अफिसमासमेत दर्ता गरेकी छन्।
यस फिल्मले 'मंगल मिसन'मा काम गरिरहेका महिला इन्जिनयरहरूको कथा भन्छ। भारद्वाजकी वकील श्रृष्टि ओझाले कस्बेकरको फिल्म निर्माण स्टुडियोसँग गोप्यता कायम गर्ने सम्झौतासमेत भएको खुलासा गरेकी छन्।
अभिनेता अक्षयले भने यसबारेमा कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।