भारतीय अभिनेता देव आनन्दले संसार छाडेर गएको सात वर्ष पूरा भई आज आठ वर्ष लागेको छ। यसै अवसरमा उनको जीवनी ‘रोमान्सिङ विथ लाइफ’को नेपाल जोडिएको प्रसंगलाई पुस्तकका विभिन्न खण्डबाट संयोजन गरेर गिरीश गिरीको अनुवाद–
म काठमाडौंस्थित नारायणहिटी राजदरबारमा थिएँ। त्यतिबेलै जर्मनीका डकुमेन्ट्री निर्माता एवं नायक क्रिस्टिन डोरमरको फोन आएको जानकारी पाएँ। त्यो नाम सुन्ने बित्तिकै मेरो मनमा घन्टी बज्न थालिहाल्यो। उनी पनि काठमाडौंमै रहेछन्।
सन् १९६२ ताका ‘बर्लिन फिल्म महोत्सव’ मा ‘हम दोनो’ लिएर पुग्दा भेटिएका तमाम कलाकारमध्ये मेरो स्मृतिमा बसेका एकमात्र लक्का जवान यिनै हुनुपर्छ। एकैसमयमा म पनि काठमाडौं आएको चाल पाउने बित्तिकै उनले भेट्न चाहेका रहेछन्।
अलि साहसिक हर्कत रुचाउने हामी दुवै त्यो साँझ ‘द बेकरी’मा पुग्यौं, जहाँ रात पर्दै गएपछि हिप्पीहरु भेला हुँदा रहेछन्।
संसारभरका बेरोजगार, अल्छे, निराशा प्रकट गरिरहने र रमिता मात्र मन पराउनेहरूले त्यो समयमा ‘हिप्पी’ नामको एउटा सम्प्रदाय नै बनाएका थिए। जहाँ जहाँ अफिम, चरेस, गाँजा जस्ता लागुऔषध टन्नै भेटिन्थे, उनीहरू त्यतै त्यतै पुग्थे।
धुवैँ धुवाँका बीच चेत हराएको रोगीजस्तै गाउनु, नाच्नु, एकअर्कामा समाहित हुनु, लागुऔषधले बेहोस अनुहार लिएर एकले अर्कालाई निस्तब्ध टोलाउनु। यस्ता हिप्पीहरुले त्यो सबका निम्ति त्यतिखेर काठमाडौंलाई केन्द्र बनाएका थिए। त्यसैगरी ‘टाइम म्यागजिन’मा समेत उल्लेखित बेकरी क्याफे उनीहरुको अड्डै थियो।
हिप्पीहरुको जमघट फेला पार्न क्रिस्टिन र म अलिक ओह्रालोतर्फ लागेर एउटा अँध्यारो गल्लीमा प्रवेश गरेका थियौं। हामी उनीहरूलाई चिहाउन चाहन्थ्यौं।
मेरा जर्मन साथीले अचानक मलाई च्याप्प समातेर धेरै अगाडि बढ्न दिएनन्। उनीहरु यसरी गोलो बनाएर आफ्नै खाले रमितामा मग्न रहेको बेला नजिक पुग्नु खतरनाक हुनसक्ने क्रिस्टिनको ठहर थियो। सम्भावित आक्रमणबाट जोगिन हामीले अलि परैबाट उनीहरुका गतिविधि नियाल्न थाल्यौं।
हे प्रभु! यो त पूरै सिनेमा जस्तो पो थियो। अधिकांश लामा लामा कपाल भएका पुरुष जसका दाह्री कहिल्यै नखौरिएका अनि उस्तै जुँगा। घाँटीमा सयपत्रीका माला अनि निधारमा लाम्चो पारेर दलिएको टीका। एक अर्कासँग जोतिएर बसेका। कोही पलेँटी मारेका त कोही चित्तान परेर ताराबिहिन आकाशतिर टोलाइरहेका, मानौं ध्यान गरिरहेका छन्। तिनका महिला साथीहरु पनि कोही काखमा बसेका छन् त कसैले पुरुष मित्रको टाउको स्तनमा राखेर सुम्सुम्याइरहेका छन्।
ती चेलीहरुको पछ्यौरी जब जब हावामा उड्थ्यो, बुङबुङ्ती चरेशका गन्ध फैलिन्थ्यो। उनीहरु सबै चिलम तानिरहेका थिए। लहरै एकले फुक्दै अर्कोलाई हातै हात ‘पास’ गर्दै।
पर धिपधिपे मैनबत्तीको छायाँमा कसै कसैले ‘बदमासी’ गरिरहेको आकृति पनि चल्मलाइरहेको थियो। अर्कोतिर केटा र केटीका छिल्लिएका–कुत्कुतिएका आवाज पनि कुनाबाट आइरहेको थियो। त्यसैगरी अलि पर भर्खर चरम सन्तुष्टिमा पुग्दाको एउटा स्त्री चिच्याहट गुञ्जियो। जसको पुरुष साथीले लगत्तै स्त्रीदेह छाडेर नाङ्गै भुतुङ्गै नाच्दै गरेको पनि देख्न थालियो। फेरि अर्कोतिर एउटा अर्धनग्न हिप्पी लठ्ठ आँखालाई मुनेर गितार बजाइरहेको थियो।
उसले च्यापेको चुरोट ओठलाई भारी भएर अहिले खस्ला कि तहिले खस्ला भइरहेको छ। यता घाँटीभरि माला पहिरेर दुई खुट्टाको दोभानमा बसेकी तरुनी ती गितारवादकका लामा लामा जुँगा सुम्सुम्याइरहेकी थिइन्।
एउटा जुँगामुठे उनीहरुको बीचैबाट गुज्रिए जसले एक-एक वटा चिलम प्रत्येक समूहलाई बाँड्दै थियो। त्यसैगरी एउटा जोगी आकृति पनि त्यहाँ देखियो, जो फूलको थुप्रोबाट थोर-थोरै निकाल्दै र सबैका शरीरमा छर्दै थियो।
त्यहीँनिर एउटी गहुँगोरो युवतीतर्फ केही पुरुष झुक्दै गरेको देखियो। युवतीको कपाल लामो थियो। राम्ररी कस्न नसकेका उनका चोलीबाट तन्नेरीवयका स्तनहरु उछिट्टिन खोजेजस्ता देखिन्थे। भुइँमा लुटपुटिएर सायद घासभरि छरिएका गाँजाको गन्ध सुँघ्न चाहिरहेकी थिइन्। उनले आफ्नो हात अनायासै पछिल्तिर बसेका प्रेमीको जुँगातिर बढाइन्। प्रेमीले हातमा रहेको चुरोट युवतीको ओठमा लगेर च्यापिदिए। उनले दम कसेरै चुरोटको लामो सर्को तानिन् र प्रेमीतर्फ ढल्किँदै अनुहारभर फुकिदिइन्।
प्रेमीले युवतीको पूरै ओठ मुखले च्वाप्पै पारेर चुस्न थाल्यो। उनीहरुकै छेउमा रहेको अर्को जोडी भने भर्खरै मैथुन सकेर सुत्नेहरुको विश्वव्यापी अवस्था प्रदर्शित गर्दै घुरिरहेको थियो।
त्यत्रो जमातमा एउटी मात्र बेग्लै वर्णकी युवती भएकाले ती गहुँगोरी तर्फ मेरो ध्यान केन्द्रित थियो। उनी हेर्दै पूर्वेली देखिन्थिइन्। एकछिनसम्मै एकले अर्काको ओठ चुसेपछि र शरीरका अनेक पाटा खेलाएपछि ती युवतीले अर्कातिर घोप्टो पर्दै केही भनिन्। त्यो आवाज हिन्दी जस्तै लाग्यो। म स्तब्ध भएँ। भुइँमै अर्कातिर फ्याँकिएको उनको चश्मा झण्डै छेवैबाट गुज्रिएको एक जोगीले कुल्चिदिएका थिए।
‘बाबा, मेरा चश्मा...’ यसपाला युवतीले निकालेको आवाज मैले प्रष्टैसँग सुनेँ। ऊ भारतीय नै हो भन्ने कुरामा अब मलाई कुनै शंका रहेन।
‘आफ्नो बेग्लै पहिचान र दुनियाँ छाडेर यी तमाशासँग यो केटीले के गरिरहेकी हो?’ मेरो दिमागमा यो प्रश्नले नराम्रोसँग झटारो हिर्काउन थाल्यो। साथसाथै यिनले एउटा ठूलै कथाको रहस्योद्घाटन गर्नेछिन् भन्ने पनि मलाई लागिरहेको थियो।
आजसम्म नसुनिएको एउटा बेग्लै कथा, दबिएको कथा जसलाई खोतल्दा चकित पार्न सक्छ।
लाग्न थाल्यो, यी युवती अब मेरो आगामी सिनेमाको कथा बन्न सक्छिन्। र, त्यो कथाबाटै भारतीय सिनेमा आजसम्म नछोइएको विषयवस्तुमा प्रवेश गर्नेछ। मलाई उनका बारेमा थप जान्न अब काउछो लागेजस्तै हुन थाल्यो। उनी को हुन् र उनीसँग घेरिएका चिलम समात्नेहरु को हुन्?
सोल्टी होटल पुगेपछि त्यहाँको बारमा काम गर्ने युवकलाई यसबारे जिज्ञासा राखेँ। काठमाडौं भित्रने विदेशीहरुको झुण्डमा बस्ने कुनै आकर्षक भारतीय युवतीको बारेमा उनलाई केही थाहा छ कि भनेर प्रश्न गरेँ। उनले विस्तारमा कुरा सुनिसकेपछि तत्कालै मलाई त्यस केटीको विवरण उपलब्ध गराइदिए।
काठमाडौं यति सानो ठाउँ रहेछ कि यहाँ प्रत्येकले प्रत्येकलाई जानेको हुने। बारमा काम गर्ने ती युवकले मलाई उक्त युवती नेपाल बाहिरबाटै आएको र यहाँ उनको नेपाली प्रेमीसँग बस्ने गरेको जानकारी पनि दिए।
‘तपाईं भोलि पनि यो बारमा आउनु हुने हो भने,’ ती युवक भन्दै थिए, ‘उनी यहाँ तपाईंलाई कुरिरहेकी हुनेछिन्।’
भोलिपल्ट त्यो बारमा पस्ने बित्तिकै त्यस युवकले मलाई स्यालुट ठोक्दै अर्को तर्फ शान्त कुनामा पिठ्यु फर्काएर बसिरहेकी युवती देखाइदिए।
उनलाई गतिलै ‘टिप्स’ दिएर म सरासर उतैतिर बढेँ। नजिक नपुग्दै युवतीले आभाष पाइन् र मतिर टाउको फर्काउँदै सोधिन्–‘मलाई भेट्न खोज्नुभएको रे। होइन?’
‘पक्कै पनि,’ मैले जवाफमा भने, ‘काठमाडौंकी अत्यन्त सुन्दर र चर्चित युवतीलाई कसले भेट्न नचाहला?’
‘तपाईं मलाई एकदमै मनपर्ने हिरो हो,’ उनी भन्दै थिइन्, ‘मेरी आमालाई त झनै बढी।’
‘उहाँ कहाँ हुनुहुन्छ त?’ मैले सोधेँ।
‘मोन्ट्रियल, क्यानडामा’
‘अनि तिमी...यहाँ...’
‘काठमाडौंमा छुट्टी बिताइरहेकी छु’
‘हो, छुट्टी मनाउन त यो गजबैको ठाउँ छ’
मेरो जवाफ सुनेर उनी हाँसिन्।
‘तिम्रो नाम?’ मेरो अर्को प्रश्न थियो।
‘जेनिश,’ उनले भनिन्।
‘जेनिश रे...?’ मैले अचम्म मानेँ।
‘वास्तवमा मेरो नाम जसवीर हो,’ उनी मुस्काइन्, ‘तर, सबैले जेनिश भनेरै चिन्छन्।’
सुरुमा उनले मलाई आफ्नो कथा सुनाउन अलि अप्ठ्यारो मानिन्। तर, विस्तारै मसँग खुल्दै गएपछि सबै बेलिविस्तार लाग्न थाल्यो।
क्यानडामा आमालाई छाडेर भागेकी उनी आफूलाई नयाँ पुस्ताको विद्रोही बताइरहेकी थिइन्, जसले पुरानो पुस्तासँग आफुलाई जोड्न चाहँदैन। आमासँग झगडा गरेपछि र आफूलाई अत्यावश्यक पर्ने केही पैसा उनैबाट चोरेपछि यिनी आफ्नो भागको खुसी खोज्दै निस्किएकी रहिछन्।
आफूलाई राम्ररी हेरचाह नगर्ने अभिभावकको पैसा चोर्नु कुनै गलत नभएको उनको दाबी थियो।
‘अनि तिम्रा पिता नि?’ मैले सोधेँ।
‘उहाँले मेरी आमासँग सम्वन्ध विच्छेद गर्नुभयो। अहिले कतै अन्तै बसिरहनु भएको छ,’ उनी भन्दै थिइन्, ‘सायद पञ्जाबतिर भनेको हो क्यारे!’
म गम्भीर भएर उनलाई सुनिरहेको थिएँ। पछिल्लो प्रसंगले उनमा अचानक तिक्तता उत्पन्न गर्यो।
‘मलाई बाल मतलब छैन,’ उनी भन्न थालिन्, ‘मलाई यी सबै कुरासँग वास्ता पनि छैन।’
मैले उनलाई मदिरा पिउने प्रस्ताव गरेँ।
‘यतिबेला त पिउँदिन,’ बेलुकीको सात बज्दै गरेको घडी हेरेर उनले भनिन्, ‘बरु म अब हिँड्ने बेला भयो, के मलाई तपाईं अटोग्राफ दिनुहुन्छ?’
उनले चोलो भित्रबाट एउटा कागज निकालिन्।
‘कसका निम्ति अटोग्राफ?’ मैले सोधेँ, ‘तिम्रो निम्ति, कि तिम्री आमाको निम्ति?’
‘मेरो निम्ति,’ उनले मुस्कानका साथ भनिन्।
जतिखेर उनी त्यहाँबाट फर्किइन्, त्यति नै बेला मेरो दिमागमा सिनेमाको केन्द्रीय पात्र ‘जसवीर’ र कथानक खेल्न थालिहाल्यो। यो सिनेमाको नाम म ‘हरे रामा, हरे कृष्णा’ राख्नेछु ...।
सात दिनसम्म लगातार समारोहमा बिताइसकेपछि जब राजा महेन्द्रसँग विदावारी हुन नारायणहिटी पुगेँ, मैले धेरै पर्खनु परेन। उनले नजिकका मान्छेहरुसँग भेटघाट गर्ने त्यो भव्य कोठामा उनका सहयोगीले मलाई पुर्याइ दिए। हामीले हात मिलाउने बेला हत्केलाहरुमा मिठो घर्षण थियो। त्यसले पैदा गरेको न्यानोपनले मित्रताको गहिराइ अनुभूत गराउँथ्यो।
‘म तपाईंप्रति साह्रै अनुगृहित छु,’ मैले भनेँ।
‘मबाट थप केही हुनसक्छ कि?’ उनी प्रश्नका साथ मुस्कुराउँदै आफ्नो शाही आसनमा बसे।
‘सरकार, यदि मैले अनुमति पाउँछु भने, भर्खरै एउटा कथा मेरो दिमागमा आइपुगेको छ,’ मैले आफ्नो कुरा राख्दै गएँ, ‘र, त्यो कथा यस संसारमै नेपालमा मात्र उभिन्छ।’
राजाले मबाट थप कुरा जान्न खोजेजस्तो देखियो।
‘त्यो सिनेमाले नयाँ दुनियाँमा दर्शकलाई लैजाने छ,’ मैले भन्दै गएँ, ‘बेपरवाह तन्नेरीहरुको कथा।’
‘तपाईंले कतै हिप्पीको कुरा त गरेको होइन?’ राजाले भेउ पाइसकेका रहेछन्।
‘हो सरकार,’ मैले भनेँ, ‘सिनेमा बनाउन यो गजबकै विषय छ र म यसलाई यहीँ बसेर तयार पार्न चाहन्छु।’
‘लौ बनाउन सुरु गरे हुन्छ,’ उनले जिज्ञासा पनि राखे, ‘अनि, स्क्रिप्ट तयार भइसक्यो त?’
‘तपाईंको अनुमति बिना कसरी सुरु गर्ने?’ मैले भनेँ।
‘यो सारा योजना तपाईंको, सिनेमै तपाईंकै,’ उनले सोधे, ‘अनि मेरो अनुमति किन आवश्यक पर्यो?’
‘होइन, खिच्न त तपाईंकै अनुमति चाहिन्छ नि,’ मैले भनेँ, ‘भोलि आवश्यक परेको ठाउँमा खिच्न नपाइएला रे?’
‘लौ अनुमति दिएँ,’ उनले भने, ‘बरु मलाई कहिले खिच्ने हो थाहा दिनू।’
‘स्क्रिप्ट त पहिल्यै यहाँ थुप्रिसकेको छ,’ मैले टाउकोतर्फ औंलाले ठोक्दै भने, ‘अब केवल कागजमा सार्नु मात्रै छ। तपाईंको उत्साहले अब तत्कालै काम बढाइ हाल्छु।’
‘तपाईं कहिल्यै पोखरा जानुभएको छ?’ राजाले मलाई अनौठो प्रश्न सोधे।
‘मैले त्यो ठाउँको बारेमा सुनेको छु।’
‘केही दिन अझै नेपाल बसेर त्यो ठाउँ पनि घुम्ने कि?’ मलाई सोधे, ‘त्यो एकदमै शान्त ठाउँ छ जहाँ तपाईंले गर्नेजस्तो कामको निम्ति एकदमै अनुकूल वातावरण भेटिनेछ।’
‘त्यसो भए, लौ न,’ मैले तत्काल जवाफ फर्काएँ।
‘त्यहा मेरो भाइ अधिराजकुमार बसुन्धराले खोलेको एउटा गजब होटल छ,’ उनले भने, ‘पृष्ठभूमिमा हिउँले भरिएको अन्नपूर्ण देखिने त्यो होटलको नाम फिस्टेल लज हो।’
त्यो स्थान स्क्रिप्ट लेख्न अत्यन्तै उपयुक्त हुने र त्यहाँ जान मलाई यात्राभर सुरक्षा र गाइड दुवै हुने किसिमले एउटा गतिलो इन्स्पेक्टर खटाइदिने जानकारी पनि उनले दिए।
‘धन्यवाद सरकार, अब तपाईं यो अतिथिप्रतिको कर्तब्यबाट मुक्त भएर अधिराज्यकै काममा लाग्नुभए हुन्छ,’ मैले अनुगृहित हुँदै भने, ‘ईश्वरले तपाईंलाई साथ दिऊन्।’
हामीले फेरि हात मिलायौं।
बोलाउने बित्तिकै हाजिर हुने इन्स्पेक्टर थापा र फिस्टेल लजको व्यवस्थापन सम्हाल्दै आएका क्युबाका एक दम्पत्तिको सहयोग मलाई उपलब्ध थियो। विशाल फेवाताल बग्दै ओर्लिएको स्थान छेवैमा रहेको लजबाट पहाडी दृश्य गजबै देखिन्थ्यो। अर्कातिर चाहिँ फूलै फूलले भरिएको घना जंगल।
हिप्पीहरुको जमघटमा जुन फूल देखिएको थियो, त्यो सयपत्रीका त यहाँ जंगलै थिए। अर्थात् म मेरो कथाको पहिलो ड्राफ्ट तयार पार्न एकदम ‘पर्फेक्ट’ लोकेशनमा थिएँ। त्यो तीन दिनमै तयार भएको थियो।
यो कथा बोकेर जब म बम्बइ पुगेँ, यसको नाम सुनेर मेरा साथीहरुले पक्कै पनि यो धार्मिक सिनेमा हुनुपर्छ भनेर लख काटे। सिनेमाको जसै घोषणा भयो, आम दर्शकले पनि ‘अब देव आनन्दले धार्मिक सिनेमा बनाउन थाल्यो’ भनेरै चर्चा गरे।
‘हरे रामा हरे कृष्णा’ जुन दिन रिलिज भयो, विश्वले कुनै धार्मिक होइन, त्यो कालखण्डकै एउटा अत्याधुनिक सिनेमा पाएको थियो।
...
मलाई सबभन्दा पहिले ‘हरे रामा हरे कृष्णा’ का निम्ति जसवीर अर्थात् जेनिसको खोज थियो। तर, फिल्म उद्योगका कुनै पनि नायिका देव आनन्दको बहिनी बन्न तयार थिएनन्।
सबैलाई मेरो जोडीका रुपमा रोमान्टिक भूमिका नै चाहिएको थियो। जबकि हिन्दी सिनेमाको त्यो चरणमा जुन किसिमका हिरोकी बहिनी हुन्थे त्यसभन्दा जसवीर एकदमै बलियो र चूनौतिपूर्ण भूमिका छ भन्ने कुरो कसैले बुझ्दै बुझेनन्। यस पात्रले नै यो सिनेमाको सबभन्दा बढी भार बोक्नुपर्ने भएकाले यता मलाई झनै अप्ठ्यारो परिरहेको थियो।
मैले अब कुनै नयाँ युवती छान्ने निधोमा पुगेँ, जो भारतीय होस् तर, पूरै पश्चिमा छाँटकाँट देखाउने। मस्तले चुरोट तान्ने र लुगा कपडा पनि जस्तो सुकै लगाएर बेपरवाह क्यामरा अगाडि उभिन तयार भइदिने।
केही दिनमै मेरा एक मित्र अमरजीतले घरमा भोज राखेका थिए। त्यो साँझ अझ बढी मादक बनाउन उनले भर्खर मिस एसियाको ताज पहिरेकी एक सुन्दरीलाई पनि निम्त्याएछन्। जीनत अमान।
त्यस साँझ जीनत पनि यस्तरी प्रस्तुत भएकी थिइन्, भोजभरि मैले उनलाई जसवीर मात्र देखेँ। वाह!
औपचारिक परिचय लगत्तै छात्रवृत्तिमा एक वर्ष क्यालिफोर्निया जानुअघि आफूले पंचगानी कन्भेन्टमै पढेको जानकारी पनि उनले दिइन्।
मेरो सामुन्ने बसेकी यी युवतीमा गजबकै आत्मबल थियो। बेपरवाह र निर्धक्क। आकृतिलाई जस्ताको त्यस्तै उतार्ने दुई तिघ्रा छोपेका पातलो मोजा अनि विचित्रको ठूलो पेटीले कसेको मादक कम्मर। हातमा एउटा सानो पर्स पनि झुण्डिएको थियो।
जब उनले हात त्यस पर्स भित्र छिराइन्, ‘यसमा के होला?’ भन्ने जिज्ञासा मभित्र दौडन थाल्यो। अत्यन्त महँगो चुरोटको बट्टा रहेछ। अर्को हातले सुनौलो रंगको लाइटर निकालिन्। कसले हेरिरहेका छन् भन्ने कुराको पूरै बेवास्ता गरेर उनी आफ्नै धुनमा गजब शैली पस्किरहेकी थिइन्।
जसै उनले चुरोटलाई ओठका बीचमा च्यापिन्, अघिदेखि नियालिरहेको मेरो र उनको आँखा एक अर्कासँग जुध्न पुग्यो। उनले मतर्फ युवती मुस्कान दौडाइन् र त्यस चुरोटको बट्टा तेर्स्याइन्।
म कहिलेकाहीँ मात्र चुरोट पिउँथे। तर, त्यो बेला मलाई नाइँ भन्न मन लागेन। बट्टामा हात बढाउनै नपाइ उनैले एउटा चुरोट निकाली पनि दिइन्। मैले भने उनको आँखाबाट एक पल पनि नजर नहटाएरै चुरोट टिपेर ओठमा घुसारेँ।
उनले पनि मेरो आँखामा हेर्याहेर्यै लाइटर सल्काइन् र त्यसको आगो मेरो चुरोट भएतर्फ बढाइन्। लाइटरको उज्यालोले उनको हँसिलो आँखा त्यो क्षण झनै चम्किलो पारिदिएको थियो। मलाई लाग्यो, यिनले भनिरहेकी छिन्, ‘के सोच्दैछौ देव, म तिम्रो जेनिस हुँ।’
मैले धुवाँको सर्को तानेर उनको मुखमै उडाइदिएँ। उनले नराम्रो मानिनन्। बरु मस्त नजरले हाँस्दै आफ्नो पनि चुरोट सल्काइन्।
‘जीनत,’ मैले उच्चारण गर्ने वित्तिकै उनले फेरि आफ्नो आँखा मसँग मिलाइन्, ‘तिमीलाई सिनेमा खेल्ने इच्छा छ?’
अहिलेचाहिँ उनले एक सर्को तानेर मेरो मुखभरि धुवाँ फ्याकिदिइन् र भनिन्, ‘विशेष किसिमको भूमिका पाएँ भने मात्र खेल्छु।’
भोलिपल्ट बिहान साढे एघार बजे उनी स्क्रिन टेस्ट निम्ति मसँग भेट्न राजी भइन्।
मैले मुस्काउन लगाएँ, मुस्काइन्। हाँस्न भनेँ, हाँसिन्। रुन लगाएँ, रोइन्। उनी क्यामराका निम्ति एकदम फिट देखिइन्।
उनलाई मैले नै कारमा घर छाडिदिने प्रस्ताव राखेँ। मेरो छेउमा बसेकी उनले लगाएको ठूलो चश्मा गजबको देखिन्थ्यो। एकदम सेक्सी।
‘राम्रो चश्मा रहेछ,’ मैले कारको स्टेयरिङ सम्हाल्दै भनेँ।
उनले तुरुन्त चश्मा निकालिन् र मेरो पाकेटमा राखिदिइन्।
‘लैजानुस्, मेरो तर्फबाट उपहार।’
‘तर, यो चश्मा त तिमीलाई पो सुहाउँछ,’ मैले भनेँ।
‘त्यसैले त यो आजदेखि तपाईंकै भयो,’ उनले पनि तत्काल जवाफ फर्काइन्।
जीनतले दिएको त्यो चश्मा आज पनि मेरो घरमै छ। बेला बेलामा जब म यो चश्मा फेला पार्छु, मलाई त्यो दिनको जीनतका मादक आँखाले फेरि घुरेर हेरेको भान पार्छ। म एकछिन मग्न हुन्छु र फेरि सम्हालेर त्यो चश्मालाई राखिदिन्छु।
...
८४ जनाको ‘हरे रामा हरे कृष्णा टोली’ लिएर जसै म काठमाडौं ओर्लिएँ, कामले गति समात्न थालिहाल्यो। दिन रात। म तीन सिफ्टमा काम गर्थें। नेपालीहरुले त्यतिबेला देखाएको आत्मीयता सायदै म कहिल्यै बिर्सन सकूँला। त्यो अधिराज्यको राजधानीमा म बसुन्जेल नै ‘हरे रामा हरे कृष्णा’ को धुनै सवार थियो।
एक हिसाबले सुटिङको दस सातासम्म हामी सबै त्यो माहोलमा रंगमंगिएका थियौं। त्यहाँका जन–जनले मलाई हार्दिक स्वागत गरेका थिए भन्ने कुरा भक्तपुरको उदाहरणबाट पनि दिन सकिन्छ।
नेपालको पूर्व राजधानी रहेको त्यो सहरमा अलि कम्यूनिष्ट प्रभाव थियो। स्थानीयमा पनि भारत विरोधी भावना छ भनेर सुनेको थिएँ। त्यसै सहरको दरवार स्क्वायरमा मैले मुमताजका निम्ति एउटा नृत्यको दृश्य राखेँ।
तर, गजब। यहाँ पनि मैले उत्तिकै सहयोग र सद्भावना पो भेटेँ।
घरघरबाट गृहणी, स्कुलबाट विद्यार्थी अनि कताकताबाट कार्यालय छाडेर ओइरिएको हुलका हुल समुदायले मुमताजसँग तीन दिनसम्मै ‘छुट्टी’ मनाए।
स्वयम्भूमा सुटिङ चलिरहेकै बेला एक दिन एउटा तन्नेरी अलि परै बसेर चाखपूर्वक हेरिरहेका थिए। कसैले मलाई छेवैमा आएर कानेखुसी गर्दै ति युवक राजकुमार ज्ञानेन्द्र रहेको जानकारी दिए। मैले सरासर उनको नजिक पुगेर छायांकन क्यामराको पछाडिबाटै हेर्न अनुरोध गरेँ। तर, उनले आफ्नो उपस्थितिका कारण सुटिङमा कुनै बाधा नपरोस् भन्ने इच्छा देखाए र परै बसेर एक्लै हेर्न चाहन्छु भने।
त्यसदिन मैले सुटिङ चाँडै समेटेँ। किनभने भोलिपल्ट बिहानै मलाई एउटा लोकेशन हेर्न हेलिकप्टरमा केही मिनेट परको डाँडो पुग्नु थियो। म करिब आठ हजार फिटमा पर्ने त्यो डाँडोमा पुगेर फर्किएँ।
सुटिङ गर्न फेरि त्यहाँ जानुअघि स्क्रिप्टमा केही सुधार गर्न खोजेँ। स्क्रिप्ट नै फेला परेन।
हे प्रभु! कहाँ गयो त्यो? मैले होटलमा सबैतिर खोज्न लगाएँ, कतै फेला परेन। सुद्धि हराएको भन्दै आफ्ना सहायकलाई बेस्मारी हकारेँ। बिना स्क्रिप्ट कसरी सुटिङ अघि बढ्छ?
फेरि दोहोर्याएर लेख्नु सम्भव थिएन। त्यहाँ माथि यत्रो युनिटको खर्च...। कहाँ गयो होला त्यो स्क्रिप्ट? कतै त्यो डाँडैमा त छुटेन?
मैले भित्तोमा टाउको ठोक्न थालेँ। अचानक मैले नै त्यो स्क्रिप्ट छाडेको ठाउँ सम्झेँ। त्यही डाँडोमा।
म पूरै हतास थिएँ। त्यो उकालोमा अहिल्यै गएर ल्याइनँ भने हावाले उडाउन पनि सक्ला। वा त्यहीका स्थानीयले आगो बालिदिन पनि सक्छन्।
हतास मनस्थितिमै मैले आफूले प्रयोग गरिरहेको युनिसेफको हेलिकप्टर मागेँ। तर, त्यसमा तत्काल चालक उपलब्ध रहेनछन्। एकजनाले मलाई अमेरिकी दूतावासको हेलिकप्टर पनि छ भनेर सुनाए। तर, त्यतिबेला दूतावास पनि बन्द भइसकेको थियो।
अँध्यारो नपर्दै म त्यो बतास चल्ने डाँडोमा पुगिनँ भने कागज भेटुँला भनेर कल्पना नगरे पनि हुन्थ्यो। मेरो दिमागमा झट्ट तिनै राजकुमार ज्ञानेन्द्रको अनुहार आयो। अब बचेको हेलिकप्टर पनि राजदरबारकै मात्र थियो।
मैले सचिवलाई फोन लगाएँ र केही मिनेटमै हेलिकप्टर आइपुग्यो। तत्कालीन राजकुमार ज्ञानेन्द्रको सहयोगमा यो सबै सम्पन्न भएको थियो।
अघि दिउँसोकै स्थानमा हेलिकप्टर अडिएपछि म दौडिएर स्क्रिप्ट छाडेको मैदानतिर बढेँ। मेरो स्क्रिप्टका केही पन्ना फर्फराएर मलाई नै पर्खिबसेका रहेछन्। अँध्यारो पर्नै लागेको बेला मैले टपक्क टिपेँ र फर्किएँ।
चार साता लगाएर मुमताजको काम सकिएपछि अब जीनत अमानको पालो थियो।
काठमाडौंको मुटुमै रहेको अति व्यस्त काष्ठमण्डपमा ‘दम मारो दम’ को सुटिङ कम्ती चूनौतीपूर्ण थिएन। तै जीनतले यतिन्जेल पूरै पारंगत अभिनेत्रीको गुण विकास गरिसकेकी थिइन्। उनी पूरै बेग्लै दुनियाँमा डुबेकी थिइन्, वास्तविक हिप्पीहरुले घेरिएर चिलम तान्दै।
ति हिप्पीहरु जुटाउन पनि कम्ती गाह्रो थिएन।
एकाबिहानै हाम्रो युनिटका सदस्यहरु सडक सडक चहारेर उनीहरुलाई जम्मा पार्थे। उनीहरु बस्ने ठाउँमै पुगेर कसैलाई पैसा त कसैलाई गाँजा चरेसको लोभ देखाउँदै थुपार्नु पर्थ्यो। त्यो जमघटमा बिहानैदेखि सर्को तान्ने, नाच्ने र गाउने क्रम चलिरहन्थ्यो।
आरडी बर्मनको सिर्जना ‘दम मारो दम’ ले त्यो बेला काठमाडौं, भारतवर्ष हुँदै विस्तारै संसारभर आफ्नो प्रभाव विस्तार गर्न थालिसकेको थियो। त्यसमाथि बेपरवाह र मगनमस्त युवा पुस्ताको प्रतिनिधित्व गर्ने जीनत अमानको शैली। मलाई पनि निर्देशकका रुपमा हिप्पीहरुसँग यति नजिक बसेर उनीहरुको गतिविधि नियाल्न पाउनु कम्ती रमाइलो लागिरहेको थिएन।
उनीहरुमध्ये धेरैले मसँग आफ्नो मनका कुरा साटेका पनि थिए।
‘हरे रामा हरे कृष्णा’ धेरै कुराहरुले अविश्मरणीय बन्न पुग्यो।
अझ निकै पछि एकजना अमेरिकी पिताले त सिनेमामा आफ्नी हराएकी छोरीलाई देखेपछि धन्यवाद दिँदै मलाई पत्र नै लेखेका थिए। सिनेमाकै आधारमा दक्षिण-एसियालाई केन्द्र बनाउँदै खोजी गर्दा उनीहरुले अन्ततः काबुलमा छोरी फेला पारेका थिए।
सुटिङ सकिएपछि अन्तिम दिन म फेरि त्यही ‘द बेकरी’मा पुगेँ। हिप्पीहरुको माझमा घेरिएर। त्यहाँ न सुटिङ चलिरहेको थियो, न गाना बजाना। मैले एकपटक फेरि क्रिस्टिनसँग हुरी चलिरहेको त्यस साँझ अँध्यारो बाटो छिचोल्दै यहाँ आउँदाका दृश्य सम्झेँ। अहिले परिवेश एकदमै बेग्लै थियो। एउटा गजबको शान्त वातावरणमा जेनिसलाई फेरि मैले त्यहाँ देखेँ, प्रेमीको काखमा सुस्ताइरहेकी।
यता मैले त्यही जेनिसलाई जीनतका रुपमा संसारका अघिल्तिर राखिदिइसकेको थिएँ। विश्वले सँधैभर याद गरिरहने ऐतिहासिक पात्र बनाएर।
...
‘हरे रामा हरे कृष्णा’को सुटिङ सकिएपछि एकदिन कुन मनमा हो, जीनतले आफू अभिभावकहरुसँग स्थायी बसोबासका निम्ति अमेरिका जाने तयारी बारे सुनाइन्।
मलाई भने यो सिनेमाले कुनै चमत्कार गर्छ भन्ने लागिरहेको थियो। त्यसैले कम्तीमा रिलिज हुन्जेल पर्खन सल्लाह दिएँ। त्यसपछिको अवस्था हेरेर मुलुक छाड्ने विचार गर्नू भन्ने मेरो सुझाव थियो। सिनेमा रिलिज भएपछि जीनत अर्कै दुनियाँमा पुगिन्।
उनी कलेज जाने ठिटाठिटीहरुका निम्ति ‘रोल मोडल’ बनिसकेकी थिइन्। ‘दम मारो दम’ ले उनलाई सुपरस्टार बनाइसकेको थियो।
यतिको प्रतिभाशाली युवती यही भूमिकामा डुब्न नपाओस् भनेर मैले लगत्तै ‘हिरा पन्ना’ जस्ता सिनेमा बनाइहालेँ।
सारा संसारले देव आनन्दको नयाँ खोजीका रुपमा चर्चा गरिरहेको जीनतलाई मैले अरु पनि थुप्रै भूमिकाका निम्ति विचार गर्न थालेँ।
समय गुज्रँदै जाँदा एक दिन मैले भित्रभित्रै जीनतलाई मनपराउन थालेको महशुस गरेँ।
उनी बिनाको क्षण मलाई कष्टकर लाग्न थालिसकेको थियो। म त्यो जानकारी उनलाई गराउन चाहन्थेँ। रोमान्सका निम्ति कुनै उपयुक्त स्थानमा लगेर उनलाई इमान्दारितापूर्वक यो कुराको जानकारी दिने इच्छा भयो।
मैले ताज होटल छानेँ जहाँ हामीले पहिले पनि एकपटक सँगै खाना खाइसकेका थियौं।
मैनबत्तीको धिपधिपे उज्यालो बोकेको टेबल जत्तिको उपयुक्त स्थान अरु कुन हुनसक्ला र?
त्यो मैनबत्तीको चहक जीनतको अनुहारमा उसैगरी परोस् जसरी त्यो पहिलो भेटको बेला चुरोट सल्काउने लाइटरको उज्यालो मैले त्यस मुहारमा देखेको थिएँ।
तल, अन्धकारमा विलिन हुँदै गएको सहरका चम्किला बत्तीहरुले हामी दुईको त्यो क्षण अनि मुडलाई अझ उज्यालो पारिदिनेछ।
‘जीनी आज राती कतै डेटमा जाउँ न,’ मैले फोन गरेर भनेँ।
‘तर, आज त हामी एउटा पार्टीमा जान लागेको होइन र?’ उनले सोधिन्।
‘हो कि,’ मैले मन थाम्दै भनेँ, ‘तर, त्यस पार्टीमा एकैछिन बसेर सबैलाई बाइ गर्दै हामी कतै हिँडिहाल्नु पर्छ।’
यो आदेशजस्तो भए पनि अत्यन्त प्रेमपूर्वक मैले सुनाएको थिएँ।
उनी केही बेरसम्मै मौन भइन्।
‘हेलो,’ मैले फोनमै झकझक्याउन खोजेँ।
‘अँ, म सुन्दै छु,’ उनले भनिन्।
‘के बेलुकी डेटमा जाने पक्का भयो?’ मैले फेरि सोधेँ।
‘यदि तपाईंलाई त्यस्तै इच्छा छ भने,’ उनले फोन राख्नुअघि थपिन्, ‘ठीकै छ, भेटौं न।’
मैले उनलाई कारमा राखेर बेलुकीको पार्टी लगेँ। माहोल बेजोड थियो। जीनतलाई पस्दापस्दै पहिलो अभिवादन रक्सीले धुत भएका राजकपुरले गरे, रवाफिलो मुद्रामा।
‘लौ हेर,’ उनले यसो भन्दाभन्दै आफ्नो कसिलो अंगालोले जीनतको कमलो शरीर अँठ्याउन भ्याइसकेका थिए।
फिल्मी दुनियाँमा प्रायः देखिने यस्तो दृश्यले यसपटक चाहिँ मलाई अलि अप्ठ्यारो पारेको थियो।
राजकपुरको आलिंगनमा कसिएकी जीनतको प्रतिक्रिया विनम्र हुँदाहुँदै पनि अप्ठ्यारो थियो। उनले तत्कालै राजको खुट्टा ढोग्न निहुरिन खोजिन् र निहुरिएकै अवस्थामा मलाई बडो अप्ठ्यारो गरेर हेरिन्।
आफूले केही गल्ती गरेजस्तो ठानेर राजले मलाई च्याप्प समाते। अत्यन्त आत्मीयता देखाउन खोजे। राज र मेरो भेट यस रुपमा पहिले कहिल्यै भएको थिएन।
मेरो दिमागमा केही दिनअघि मात्र सुनेको एउटा हल्ला फेरि झिलिक्क चम्क्यो। राजकपुरको नयाँ सिनेमा ‘सत्यम शिवम् सुन्दरम्’मा मुख्य भूमिका निभाउनेगरी जीनत उनको स्टुडियोमा स्क्रिन टेस्टका निम्ति पुगेको चर्चा थियो।
त्यो हल्लाले यतिबेला मेरो सामुन्ने आफूलाई सत्य साबित गर्न खोजिरहेको थियो। मेरो मुटु भक्कानियो।
‘जीनत, तिमीले मलाई दिएको बचन तोड्यौ,’ उता मातेर चुर राज भन्दै थिए, ‘सम्झ त, अबदेखि सधै मलाई मनपर्ने सेतो साडी लगाएर मात्र भेट्छु भनेकी होइनौ?’
अर्थात्, मेरो जानकारी बेगरै यत्रो सबथोक भइसकेको रहेछ।
राजको पछिल्लो भनाइले जीनत पनि अचानक स्तब्ध भइन्।
त्यति नै बेला त्यो जीनत अब मेरो निम्ति पुरानै जीनत रहिनन्।
मेरो मुटु छिया छिया भयो। टुक्रा टुक्रा परेर भुइँभरि छरियो। म तुरुन्तै त्यो पार्टी छाडेर कतै एकान्तमा पुग्न हतासिएँ। मेरो अभिमान त्यहाँ नराम्ररी पछारिएको थियो। त्यो ठेसले जुन हिनताबोध मभित्र दर्फराएको थियो, त्यसलाई निल्न पनि मलाई एकदमै एक्लो हुन मन लाग्यो।
भित्रभित्रै उत्पन्न ‘यत्रै सित्ति’ भन्ने भावले तत्काल मलाई अलि बेग्लै अवस्थामा पुग्न मद्दत गर्यो। र, त्यति नै बेला हामी दुवैका तर्फबाट अहिलेसम्म अभिव्यक्त नभए पनि भित्र भित्रै विकास भएको एउटा सम्बन्धलाई मैले तिलान्जली दिएँँ।
किनभने त्यो सम्बन्धमा यस्तो व्यावसायिक बेइमानीले ठाउँ पाउनै सक्दैन थियो।
मैले मनभित्र यो युवतीको जुन चित्र बनाएको थिएँ, त्यो चिरा पर्दै जान थाल्यो।
‘तिमी अझ कतिबेर यहाँ बस्छौ जीनत?’ साथै ल्याएकोले यति सोध्नु मेरो कर्तव्य थियो।
उनले राजकपुरतर्फ पुलुक्क हेरिन्। ए बाबा! मानौं उनलाई अब हिँड्न पनि राजकपुरको अनुमति पो चाहिएको छ।
‘देव, जीनतलाई यतै बस्न देऊ,’ मातेका राज भन्दै थिए, ‘बरु तिमी पनि यतै रमाइलो गर न।’
‘खैर जे होस्, आनन्द लेऊ जीनत,’ मैले मोडिँदै भने, ‘बरु तिमीलाई इच्छा लागेपछि मलाई एकपटक फोन चाहिँ गर्नू।’
‘तर, हामी त कतै अन्तै पनि जानेवाला थियौं,’ उनी अझै सोधिरहेकी थिइन्, ‘होइन र?’
‘बेकार,’ मैले यति भनेँ र त्यस माहोलबाट विदा लिएँ।