कन्नड भाषामा बनेको र पाँच भाषामा रिलिज भएको कन्नड स्टार यश अभिनित ग्याङ्स्टार एक्सन-ड्रामाले वक्सअफिसमा प्रभाव बढाउँदै लगेको छ।
शाहरुख खान अभिनित 'जिरो'सँगै रिलिज भएको कन्नड भाषाको हालसम्मकै सर्वाधिक बजेटमा बनेको सिनेमाले कमाइको मामिलामा 'जिरो'लाई पछि पारेको छ।
हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार सप्तान्तमा 'जिरो'ले ५९.०७ करोड भारू कमाउँदा 'केजिएफ'ले ५९.६१ करोड भारू कमाउन सफल भएको छ।
बलिउडका वक्सअफिस विश्लेष्क तरन आदर्शका अनुसार सिनेमाले हिन्दी डबमा मात्रै करिब १० करोड भारू कमाइ गरेको छ। जुन आजसम्मको कन्नड सिनेमाको हिन्दी डबमा सर्वाधिक कमाइ हो। 'केजिएफ' दुई भागमा बनेको छ।
आदर्शले आफ्नो ट्वीटरमा 'केजिएफ' वक्सअफिसमा बलियो बन्दै गइरहेको जनाएका छन्। उनका अनुसार रिलिजको दिन शुक्रबार १८.१ करोड बारू कमाएको सिनेमाले शनिबार १९.२ करोड र शनिबार २१.८ करोड कमाएको छ।
त्यस्तैले शाहरूखको 'जिरो'ले पहिलो दिन २०.१ करोड भारू कमाउँदा शनिबार र आइतबार क्रमशः १८.२ र २०.७ करोड कमाइ गर्यो। यो कमाइ अपेक्षाकृत होइन।
त्यस्तै अर्को बलिउड साइट 'कोइमोइ डटकम'ले पाँच दिनमा शाहरुखले करिब ६९.०७ कमाउँदा 'केजिएफ'ले रिलिजका सबै संस्करणमा ७५.२० करोड भारू कमाइ गरेको जनाएको छ।
'जिरो' ४४०० स्क्रिनमा रिलिज हुँदा 'केजिएफ' त्यसको करिब आधा संख्यामा (२४००) स्क्रिनमा रिलिज भएको छ।
कन्नड भाषामा सर्वाधिक महँगो मानिएको 'केजिएफ' ५० करोड भारूमा निर्माण भएको सिनेमा हो भने 'जिरो'को लागत २०० करोड भारू रहेको बताइन्छ।
स्मरणीय रहोस् केजिएफ र जिरो दुबैले समिक्षकहरूबाट मिश्रित प्रतिक्रिया बटुलेको छ। नेपालमा समेत सिमित शोमा रिलिज भएको 'केजिएफ'को शो मल्टिप्लेक्सले पछिल्लो समय बढाएका छन्।
रिलिजको दिन नेपाली मल्टिप्लेक्सले सिनेमालाई १ शो मात्र दिएका थिए भने ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले 'जिरो'लाई बढावा दिदैं सिनेमा नै चलाएन।
हाल सिनेमाले मल्टिप्लेक्समा अधिक्तम ५ शो सम्म शो बढाएका छन्।