पाकिस्तानी सिनेमा 'द लिजेन्ड अफ मौला जट'ले आफ्नो पहिलो ट्रेलर रिलिज गरेको छ।
सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता फवाद खानलाई मौला जटको अवतारमा देखाइएको छ। यस सिनेमालाई पाकिस्तानी सिनेमा इतिहासमा हालसम्म बनेका सिनेमामध्येको सर्वाधिक महँगो सिनेमा मानिएको छ।
सिनेमा सन् १९७९ को सुपरहिट सिनेमा 'मेला जट'को रिमेक हो। सिनेमालाई 'वार' सिनेमाका निर्देशक बिलाल लसारीले निर्देशन गरेका हुन्। उनी निर्देशित 'वार' पाकिस्तानमा रिलिजपछि सो समय सर्वाधिक व्यापार गर्ने सर्वकालिन सिनेमा बनेको थियो।
सो सिनेमाले निरन्तर ओरालो लागेको पाकिस्तानी सिने उद्योगलाई नयाँ दिशा प्रदान गरेको थियो।
बिलालको त्यस सिनेमा यताको यो दोश्रो सिनेमा भएकाले सिनेमाले पाकिस्तानी वक्सअफिसमा नयाँ कीर्तिमान राख्ने अपेक्षा गरिएको छ।
सिनेमामा फवादका अलावा माहिरा खान, हुमैमा मालिक तथा हम्जा अलि अब्बासीको मुख्य अभिनय रहेको छ। सिनेमा अगामी वर्ष इदमा चीनमासमेत एकै मितिमा रिलिज हुँदैछ। यस्तो हुन लागेको यो पहिलो अवसर हो। सिनेमा इद उल फितरमा रिलिज हुनेछ।
फवादको सन् २००७ मा 'खुदाके लिए' पछिको दोश्रो रिलिज हो। उनी हाल बलिउड सिनेमामा व्यस्त रहने गरेका छन्।