गत वर्ष बलिउडका 'मै हुँ' भन्ने सुपरस्टारहरू एकसाथ वक्सअफिसमा पछारिए। उनीहरू दर्शकहरूलाई मनोरञ्जन दिन असफल रहे। धेरैले यसलाई सुपरस्टार युगको अन्त्य भने पनि बलिउड अभिनेता अजय देवगनले भने यसलाई अस्वीकार गरेका छन्।
उनले 'स्टार सिस्टम' कहिल्ये नहराउने विश्वास आफूलाई रहेको बताएका छन्। उनले विषयप्रधान सिनेमाको समय रहेको र दर्शकहरू सिनेमा हेर्ने विषयमा 'चुजी' हुँदै गएकाको बताउँछन्।
'मलाई लाग्दैन स्टार प्रणाली हटेर जान्छ। दर्शकहरू आफूले हेर्ने सिनेमालाई लिएर 'चुजी' भएका छन् र उनीहरू राम्रो भएको खण्डमामात्र सिनेमा हेर्न आउँछन्। यसले नै हामीलाई ठाउँमा राख्छ', अजयले भने, ' पहिले हामी दायँ बायाँ र बिचको सिनेमा गर्ने गर्थ्यौं जसले काम पनि गर्थ्यो तर अहिले त्यस्तोले काम गरिरहेको छैन। आजको समयमा खासगरी हाम्रा पुस्ताले धेरै नै होश पुर्याउनुपर्ने भएको छ र त्यसमा उनीहरू चनाखो छन्।'
यस्तै अजयले २८ वर्षसम्म सिनेमामा रहिरहनु आफैमा राम्रो भएको बताए।
'धेरै संघर्ष गर्नु नपरेकोमा आफूलाई भाग्यमानी ठान्दछु तर मैले सँधै कठोर परिश्रम गर्दै आएको छु। मलाई मेहेनत र संघर्ष सँधै फरक कुरा लाग्दछन्।'