बिहिबार मुम्बई प्रहरीले यौन उत्पीडन मामिलामा बलिउड अभिनेता नाना पाटेकरलाई सफाइ दिएको छ। मुम्बई प्रहरीले आफ्नो रिपोर्टमा प्रमाण नभेटिएका कारण पाटेकरलाई सफाइ दिएको उल्लेख गरेको छ।
पाटेकरमाथि बलिउड अभिनेत्री तनुश्री दत्ताले यौन उत्पीडनको आरोप लगाएकी थिइन्।
पाटेकरलाई प्रहरीले उन्मुक्ति दिएपछि तनुश्रीले प्रहरीदेखि लिएर कानुनी व्यवस्था नै भ्रष्ट भएको प्रतिक्रिया दिएकी छन्। उनले भ्रष्ट कानुनी व्यवस्थाले आफू भन्दा पनि भ्रष्ट व्यक्तिलाई बचाइरहेको बताइन्।
उनले अभिनेता नाना पाटेकरले उनलाई मात्र नभई बलिउडका अन्य अभिनत्रीलाई समेत दुर्व्यवहार गरेको बताइन्। उनले प्रहरीले झूठो प्रमाणका आधारमा मुद्धालाई कमजोर बनाएको आरोप लगाएकी छन्। उनले आफ्ना प्रत्यक्षदर्शीहरू सबैको बयानसमेत नलिइ प्रहरीले हतार हतार रिपोर्ट पेस गरेको दाबी गरिन्।
उनले त्यसलाई कुनै नौलो नमानेको बताइन्।
'म आश्चर्यमा परेको छैन किनकी भारतमा महिलामाथि यस्तो अन्याय हुनु कुनै नौलो होइन। मेरो भनाइको मतलब आलोकनाथ जस्ता बलात्कारका आरोपीले त सफाइ पाए र काममा फर्किन पाउँछन् भने नाना पाटेकरले सफाइ पाउनु कुन नौलो कुरा भयो?', तनुश्रीले भनिन्।
उनले यसमा भगवानले न्याय गर्ने बताइन। उनले जीवनमा यस्ता मानिससँग कहिले भेट नहोस भनेर कामना समेत गरिन्। उनले आफूलाई अझै पनि न्याय व्यवस्थामा विश्वास रहेको र बाँकी कुरा समयले बताउने बताएकी छन्।