बलिउड गायिका सोना महापात्रा आजबाट ४० वर्ष लागेकी छन्। ४० औं जन्मदिन मनाइरहेकी सोनाको आवाजको थुप्रै प्रशंसक छन्। उनलाई बलिउडमा सुरिलो स्वरसँगै सुन्दरी गायिकाको सूचिमा राखिन्छ। यसका अलावा उनी बोल्ड अभिव्यक्ति दिने पहिला कलाकारमा पर्छिन्।
उनको तिखो बयानको निशानामा बलिउडका मै हुँ भन्नेहरू परेका छन्। कुनै पनि विषय र घटनामा आफ्नो कुरा उनले नडराई राख्ने गरेकी छन्। गत वर्ष भारतमा सुरू भएको 'मि टु'का अभियानमा पनि उनले आफ्नो भनाइ नडराइ राखिन्।
यसक्रममा उनले आफूमाथि घटेका घटनाको मात्र बयानमात्र गरिनन्, सो प्रकरणमा आरोपीको पक्ष लिनेसँग पनि राम्रो टक्कर लिइन्।
उनले यसक्रममा बलिउड सुपरस्टार सलमान खानसँग पनि टक्कर लिइन्। उनले ट्वीटर ह्यान्डलमा एक पोस्ट हाल्दै सलमानलाई ईंगित गर्दै 'म यस मान्छेलाई फलो गर्दिन र म तपाईहरूलाई यस मान्छेसँग सम्बन्धित पोस्ट मेरो टाइमलाइनमा पोस्ट नगर्नुहोला' लेखेकी थिइन्।
त्यसैगरी उनले सुफी गायक कैलाश खेर तथा संगीतकार अन्नु मल्लिकले आफूसँग गरेको खराब व्यवहारको चर्चा गर्दै दुरब्यबहार गरेको आरोप लगाएकी थिइन्। उनको यस आरोपका कारण अन्नु मलिकले 'इण्डियन आइडियल'को निर्णायकबाट हट्नुपरेको थियो।
यस घटनामा मौनता राखेको भन्दै सोनी निगमको समेत आलोचना गरेकी थिइन्।
सोना बलिउड संगीतकार राम सम्पतकी पत्नी हुन्। उनका 'अम्बरशरिया' तथा ' पिया रे..' लगायतका थुप्रै गीतहरू चर्चित छन्।