बलिउड अभिनेता आयुष्मान खुर्राना स्टारर 'आर्टिकल १५'ले वक्सअफिसमा सुखद सुरूवात गरेको छ।
सिनेमाले कमाइ तथा समिक्षा दुबैतर्फ सुखद सुरूवात गरेको हो।
सिनेमाले रिलिजको पहिलो दिन ५.०२ करोड भारू कमाइ गरेको थियो भने दोश्रो दिन त्यो बढेर ७.५ करोड भारू पुगेको छ। पहिलो दिनको तुलनामा सिनेमाको कमाइ ५० प्रतिशतले बढेको छ।
१८ करोडको लागतमा बनेको सिनेमाले तेश्रो दिन आइतबार अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
सिनेमा सन् २०१४ मा भारतको उत्तर प्रदेश राज्यको बदायुंमा दुई दलित नाबालिक बालिकाको सामुहिक बलात्कारपछि गरिएको हत्यामा आधारित छ।
सिनेमामा आयुष्मानलाई प्रहरी अधिकारीको भूमिकामा देख्न सकिन्छ। सिनेमाले भारतको संविधानमा समताको अधिकार लेखिएको भएपनि कसरी त्यसको कार्यान्वयन हुन सकेको छैन भन्ने कुरालाई सिनेमाले उठाएको छ।
सिनेमालाई अनुभव सिन्हाले निर्देशन गरेका हुन्।
सिनेमामा आयुष्मानका अलावा इशा तलवार, एम नास्सर , मनोज पहवा, शयानी गुप्ता, कुमुद मिश्रा तथा मुहम्मद जीशान अयूबको प्रमुख भूमिका रहेको छ।