शाहिद कपुरको जीवनकै 'पहिलो सोलो हिट' फिल्म 'कबीर सिंह'को वक्सअफिस कमाइ दुई सय करोड भारू नजिक पुगेको छ।
रिलिजको दसौं दिनमा फिल्मले करिब १ सय ८२ करोड भारू कमाएको छ। शाहिदको करिअरकै सर्वाधिक सुरूआती कमाइ गर्ने फिल्म यही हो।
रिलिजको पहिलो दिन २०.२१ करोड भारू कमाएको फिल्मले दोश्रो दिन २२.७१ करोड भारू कमाएको थियो। तेश्रो दिन २७.९१ करोड, चौथो दिनमा १७.५४ करोड र पाँचौ दिनमा १६.५३ करोड कमाएपछि फिल्मले सय करोडको आँकडा पार गरेको थियो।
यसअघि सलमान खानको 'भारत' ले चार दिनमा सय करोड कमाएको रेकर्ड छ। 'कबीर सिंह' यो वर्षमै सबभन्दा धेरै 'ओपनिङ' कमाइ गर्ने दोस्रो फिल्म भएको छ।
तर 'भारत' ले रिलिजको २६ औं दिनसम्म जम्मा २ सय ११ करोड भारू हाराहारी मात्र कमाउन सकेको छ। उता 'कबीर सिंह'को दसौं दिनसम्म पनि रफ्तार कम भएको छैन। यसले भारतलाई उछिन्ने सम्भावना देखिएको छ।
'कबीर सिंह' तेलेगु फिल्म 'अर्जुन रेड्डी'को आधिकारिक हिन्दी 'रिमेक' हो। फिल्ममा शाहिद कपुर र कियारा अडवाणी प्रमुख भूमिकामा छन् भने निर्देशक सन्दीप वांगा हुन्।