रिलिजको तेह्रौं दिनसम्म शाहिद कपुरको फिल्म 'कबीर सिंह' ले दुई सय करोड भारू कमाएको छ। योसँगै 'कबीर सिंह' यस वर्ष सबभन्दा चाँडो दुई सय करोड कमाउने पहिलो फिल्म बनेको छ।
'कबीर सिंह' ले सलमान खानको 'भारत' र विक्की कौशलको 'उरी' लाई समेत पछि पारेको हो। फिल्म समीक्षक तरन आदर्शका अनुसार कबीर सिंहले १३ औं दिनमा दुई सय कमाउँदा 'भारत'ले १४ औं दिन र 'उरी'ले २८ औं दिनमा कमाएको थियो।
यसअघि सलमान खानको 'भारत' ले चार दिनमा सय करोड कमाएको रेकर्ड छ। रिलिजको पाँचौं दिनमै एक सय करोड कमाएको शाहिदको फिल्मले अहिले पनि राम्रो व्यापार गरिरहेको छ। 'कबीर सिंह' यो वर्षमै सबभन्दा धेरै 'ओपनिङ' कमाइ गर्ने दोस्रो फिल्म भएको छ।
यो कमाइसँगै 'कबीर सिंह' शाहिदको पहिलो सोलो हिट हो। साथै फिल्म यो वर्षकै 'नम्बर एक हिट' सावित भएको छ। यसले हालसम्म दुई सय छ करोड भारू कमाइसकेको छ।
अहिलेसम्मको तथ्यांकअनुसार यो वर्ष सबभन्दा धेरै कमाउने फिल्म 'उरी' हो। यसले दुई सय ४६ करोड भारू हाराहारी कमाएको छ। तर 'कबीर सिंह'को रफ्तारले 'उरी'लाई पछि पार्ने देखिएको छ।
भारतीय हलहरूमा आयुस्मान खुरानाको फिल्म 'आर्टिकल १५' पनि चलिरहेको छ। यसका बाबजुद 'कबीर सिंह' दौडिरहेको छ।
सलमानलाई त शाहिदले पछाडि पार्नेमा शंका नै रहेन। सलमानको 'भारत' को कमाइ लगभग दुई सय १०-११ करोडमा टुंगिने अर्का फिल्म समीक्षक सुमित कँडेलको अनुमान छ। 'भारत'ले नकारात्मक समीक्षा पाए पनि सफल भएको थियो।
उसो त 'कबीर सिंह' पनि आलोचनाबाट मुक्त छैन। फिल्ममा शाहिदको भूमिका र पेशा (चिकित्सक) सँग जोडेर केहीले आपत्ति पनि जनाएका छन्। तर यी टिप्पणीले फिल्मको व्यापारमा कुनै प्रभाव पारेन।
धेरै वर्षदेखि बलिउडमा सक्रिय शाहिदका लागि यो फिल्म 'टर्निङ प्वाइन्ट' बनेको छ। 'हैदर, कमिने, उड्ता पञ्जाब' जस्ता फिल्ममा उनको अभिनयको खुबै तारिफ भए पनि व्यवसायिक रूपमा हिट हुन सकेका थिएनन्। दीपिका पादुकोण र रणवीर सिंहसहितको 'पद्मावत' हिट थियो। आफ्नो पूरा करिअरमा शाहिदको सुपर हिट सोलो फिल्म भने 'कबीर सिंह' नै हो।
'कबीर सिंह' तेलेगु फिल्म 'अर्जुन रेड्डी'को आधिकारिक हिन्दी 'रिमेक' हो। फिल्ममा शाहिद कपुर र कियारा अडवाणी प्रमुख भूमिकामा छन् भने निर्देशक सन्दीप वांगा हुन्।