आगामी रिलिज 'जजमेन्टल है क्या'को गीत सार्वजनिक समारोहमा अभिनेत्री कंगना रनौटले संचारकर्मीसँग अभद्र व्यवहार गरेकोमा माफी माग्नुपर्ने माग भारतीय मिडियाले गरेका छन्।
सो कार्यक्रममा उपस्थित एक पत्रकारमाथि कंगनाले उनी अभिनित, निर्मित तथा निर्देशित पछिल्लो सिनेमा 'मणिकर्णिकाः द क्वीन अफ झाँसी'माथि गरिएको नकारात्मक टिप्पणी जानाजान र नियतवश गरिएको आरोप लगाएकी थिइन्।
सो आरोपको ती पत्रकारले प्रतिवाद गरेपछि विवाद बढ्दै गएको थियो। सो विवादलाई नियन्त्रणमा लिन निर्मात्री एकता कपुर तथा अभिनेता राजकुमार रावले स्थितिको सहजीकरण गर्नुपरेको थियो।
हेर्नुस् कंगना र पत्रकार विवादको पूरा भिडियोः
कंगनाको यस हर्कतका बारेमा सामाजिक संजालमा विभिन्न टिप्पणी चलिरहेको छ। प्रयोगकर्ताहरू कंगनाको पक्ष र विपक्षमा बाँडिएका छन्।
सामाजिक संजाल प्रयोगकर्ताहरूको एक समूहले कंगनाको व्यवहारको निन्दा गर्दै उनको बहिष्कार गरिनुपर्ने बताएको छ।
एक प्रयोगकर्ताले 'बिरामी मानसिक्ता। उनी यदि यसमा माफी माग्ने हैसियतमा छैनन् भने बलिउड मिडियाले कमघनाको बहिष्कार गर्नुपर्छ।' भनेका छन्।
'कंगना रनौटको यो उदण्ड व्यवहार स्पष्टरूपमा आफ्नो हैसियतको दुरूपयोग गर्दै पत्रकारलाई चराउन र धम्काउन प्रयोग गरिएको छ', अर्का एक प्रयोगकर्ताले लेखेका छन्।
भारतीय मिडिया रिपोर्टका अनुसार कंगनाले माफी माग्नुपर्ने भनिएको यस विषयमा केहि वरिष्ठ पत्रकारहरूले मंगलबार 'जजमेन्टल है क्या'की निर्मात्री एकता कपुरसँग भेट्ने निर्णय गरेका छन्।
उनीहरूले भेट्ने निर्णय र माफीको मागमा कंगनाले आफ्नो आधिकारिक भनाइ दिएकी छैनन्।