भारतीय अभिनेता अक्षय कुमारले कमाइमा सबै बलिउड कलाकारलाई पछि पारेका छन्। यो वर्ष फोर्ब्सको सर्वाधिक कमाइ गर्ने एक सय जना सेलेब्रेटीको सूचीमा पर्ने उनी एक्ला भारतीय कलाकार हुन्। उनी सय जनाको सूचीमा ३३ औं नम्बरमा परेका छन्।
फोर्ब्सका अनुसार अक्षयको गत वर्षको कमाइ ६ करोड ५० लाख डलर थियो।
उनले अमेरिकी गायिका रिहाना, अभिनेता ज्याकी च्यान, ब्रयाडली कुपर जस्ता सेलेब्रेटीलाई पछि परेका छन्। अक्षयका पछिल्ला फिल्महरू प्याडम्यान, ट्वाइलेट एक प्रेम कथा, केसरी लगायत फिल्म हिट भएका थिए।
अगस्टमा उनको नयाँ फिल्म 'मिसन मंगल' रिलिज हुँदैछ।
फोर्ब्सका अनुसार यो वर्ष सबभन्दा धेरै कमाउने सेलेब्रेटी अमेरिकी गायिका टेलर स्विफ्ट हुन्। सन् २०१६ मा पनि उनी यो पहिलो नम्बरमा परेकी थिइन्।
अक्षयभन्दा दुई स्थानमा मात्र माथि ३१ औं नम्बरमा 'आइरन म्यान' अर्थात् रोबर्ट डाउनी जुनियर छन्। रिहाना ३६ औं स्थानमा छन् भने ज्याकी च्यान ३९ औं स्थानमा परेका छन्।
लेखिका जेके रोलिङ १३ औं स्थानमा र हलिउड अभिनेता ड्वेनी जोनसोन १५ औं स्थानमा छन्।
सर्वाधिक कमाउनेको सूचीमा बियोन्से २० औं नम्बरमा परेकी छन्। त्यस्तै किम कार्डासियन वेस्ट २६औं स्थानमा छन्।
गायन समूह मेटालिका ३० औं नम्बरमा छ। यो वर्षको हिट फिल्म 'एभेन्जर्सः द एन्ड गेम' की अभिनेत्री स्कारलेट जोहान्सन ४७ औं नम्बरमा छन् भने क्रिस इभान्स ७३ औं नम्बरमा छन्।
हेर्नुहोस् फोर्ब्सको सूचीअनुसार सर्वाधिक कमाउने दस सेलेब्रेटीः
१. टेलर स्विफ्ट
२. काइली जेनर
३. केनी वेस्ट
४. लिओनल मेस्सी
५. एड सेरन
६. क्रिस्टियानो रोनाल्डो
७. नेइमार
८. द इगल्स
९. डा. फिल म्याकग्र
१०. क्यानेलो अल्भारेज