अभिनेता सलमान खानले बलिउडमा पाँच जना मात्र 'स्टारडम' भएका कलाकार भएको दावी गरेका छन्। सलमानले आफूसहित शाहरूख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन मात्र 'स्टार' भएको बताएका हुन्।
साथै यो 'स्टारडम' यति लामो समयसम्म कायम राखिरहन एकदमै मुश्किल काम भएको पनि उनले बताएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार सलमानले फिल्म फेयरका लागि दिएको अन्तर्वार्तामा यी कुरा भनेका हुन्।
'स्टारडम भनेको विस्तारै धमिलो हुँदै जाने कुरा हो। यसलाई लामो समयसम्म टिकाइराख्नु चानचुने कुरा होइन,' सलमानको भनाइ उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, 'मलाई लाग्छ, शाहरूख, आमिर, अक्की (अक्षय कुमार), अजय...हामी मात्र हौं जसले आफ्नो स्टारडम अहिलेसम्म कायम गर्न सकेका छौं। अझै केही वर्ष यो स्टारडम कायम रहोस् भन्ने हामी प्रयास पनि गर्नेछौं। अरू सबै सुपरस्टारको जस्तै हाम्रो फिल्मको कमाइ पनि खस्किने छ, तर हाम्रा लागि त्यो समय सुरू भइसकेको छैन।'
सलमान खानको पछिल्लो फिल्म 'भारत'ले बक्सअफिसमा राम्रो कमाइ गरेको छ। दुई सय दस करोड भारू हाराहारी कमाएको फिल्म 'भारत' मा कटरिना कैफको पनि मुख्य भूमिका छ।
यसअघि 'ट्यूबलाइट'मा नराम्रो असफलता पाएका सलमानलाई 'भारत' ले राहत दिएको हो।
हाल सलमान 'दबंग ३' को सुटिङमा व्यस्त छन्। प्रभु देवाको निर्देशनमा बनिरहेको यो फिल्ममा सोनाक्षी सिन्हा, डिम्पल कपाडिया, अरवाज खानको मुख्य भूमिका हुनेछ। यसबाहेक सलमान सञ्जयलिला भन्सालीको 'इन्शाल्लाह' पनि काम गरिरहेका छन् जसमा आलिया भट्टले उनलाई साथ दिएकी छन्।
सलमान यति बेला 'डान्स रियालिटी शो- नच बलिए सिजन ९' पनि निर्माण गरिरहेका छन्। साथै बिग बोस सिजन १३ मा पनि उनले होस्ट गर्नेछन्। सोनी च्यानलमा आउने 'द कपिल शर्मा शो' मा पनि उनको सह-निर्माण छ।