बलिउड अभिनेता संजय दत्तले आफ्नो उमेर हिरोइनसँग नाच्ने नभएको बताएका छन्। आफ्नो होम प्रोडक्सनमा निर्माण रहेको पहिलो मराठी सिनेमा 'बाबा'को ट्रेलर समारोहमा उनले यस्तो बताएका हुन्।
उनले हिरोइनसँग नाच्ने उमेर नरहेकाले आफू चरित्र भूमिकालागि तयार रहेको बताए।
'सहि हो चढ्दो उमेरले गर्दा अबदेखि म हिरोइनसँग रूख वरीपरी घुमेर नाच्न सक्दिन तर निश्चित रूपमा राम्रो भूमिकामा अभिनय भने गर्नसक्छु', संजयले भने, 'जस्तो हलिउडमा मेल गिब्सन या डेन्जकल वासिङ्टनले गरिरहेका छन्। म त्यस्ता भूमिकामा अभिनय गर्छु। डेब्यू सिनेमा 'रक्की'देखि हालसम्मको यात्रा धेरै राम्रो रह्यो। यस दौरान खुब सिक्न पाइयो र ठूलाठूला कलाकारसँग धेरै काम गरियो। अब म मराठी सिनेमामा पनि काम गर्न चाहन्छु। बस, एउटै सर्त छ, कथा र भूमिका राम्रो हुनुपर्यो।'
उनले आफ्नी आमा नरगिस मराठी भएकाले सिनेमा निर्माणको काम मराठी सिनेमाबाट सुरू गरेको बताए।
त्यसैगरी उनले आफ्ना बाबु सुनिल दत्तको सम्झना गर्दै जोकसैको जीवनमा पनि बाबुको भूमिका धेरै ठूलो हुने बताए। उनले सिनेमाको नाम 'बाबा' राखिएको खुलासा गरे।