यस वर्ष अगस्ट १५ मा अक्षय कुमार अभिनित 'मिशन मंगल' र जोन अब्राहमको पुलिस क्राइम बायोपिक 'बाटला हाउस' सँग 'बाहुबली' फेम प्रभास स्टारर 'साहो'को वक्सअफिसमा हुने भनिएको भिडन्त टरेको छ।
सिनेमाको भिएफएक्सको काम नसकिएकाले सिनेमाले आफ्नो रिलिज मिति १५ दिन पर सारेको छ। शुक्रबार सिनेमा निर्माण कम्पनीले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यसको जानकारी दिएको हो।
यो घोषणा अघिसम्म तीनै सिनेमा दर्शकका लागि प्रतिक्षित रहेको अवस्थामा सम्भावित वक्सअफिस समिकरण कस्तो होला भन्नेमा विभिन्न अडकलबाजी गरिदैं आइएको थियो। धेरैले यी ठूला ३ सिनेमाको भिडन्तले ३ वटै सिनेमालाई घाटा पुग्ने आँकलन गरेका थिए।
अब अगस्ट १५ मा अक्षय र जोनबीचमात्र वक्सअफिसमा भिडन्त हुनेछ। दुबै सिनेमाले भारतीय स्वतन्त्रता दिवसको छुट्टीको फाइदा उठाउने अनुमान गरिएको छ।
नयाँ रिलिज मितिको फाइदा 'साहो'लाई हुनेछ। सिनेमा निर्माण सुरू भएदेखिनै चर्चा छ।
सिनेमा विशेष गरी प्रभासको 'बाहुबली'को रिलिजपछिको दोश्रो सिनेमा भएकाले अघिल्लो सिनेमाबाट उनलाई प्राप्त चर्चाको वक्सअफिसमा प्रभाव र सिनेमाको झण्डै ३ सय करोड भारूको बजेटका कारण सिनेमालाई लिएर दर्शकमा कौतुहलता छ। यसैको फाइदा सिनेमाले वक्सअफिसमा उठाउने अनुमान गरिएको छ।
सिनेमाको टिजर रिलिजपछि सिनेमाको चर्चा अझ चुलिएको अवस्था छ। सिनेमामा हलिउडका एक्सन कोरियोग्राफ रहेकाले भारतीय दर्शकका लागि सिनेमा आकर्षक हुने अपेक्षा छ।
सिनेमा एकसाथ हिन्दी, तमिल तथा तेलेगुमा रिलिज हुँदैछ।