विजय देवरकोंडाको अभिनित तेलेगु सिनेमा 'अर्जुन रेड्डी'को हिन्दी रिमेक 'कबीर सिंह'ले बलिउड वक्सअफिसमा यस वर्षको सर्वाधिक कमाइ गरेको छ। वक्सअफिसमा सिनेमाले अझै पैसा कमाइरहेको छ।
सिनेमाले शाहिद कपुरसँगै विजयको चर्चा तेलेगु सिनेमाबाट बलिउडमा पनि फैलाइदिएको छ। उनी अभिनित नयाँ सिनेमा 'डियर कमरेड' शुक्रबारबाट रिलिज हुँदैछ।
अब उनको यस सिनेमाको हिन्दी रिमेक बन्ने पक्का भएको छ। बलिउडका चर्चित निर्माता एवं निर्देशक करण जोहरले यसको हिन्दी रिमेक बनाउने घोषणा गरेका हुन्।
सिनेमा हेरेपछि करणले यस्तो निर्णय गरेका हुन्।
उनले सिनेमाको खुलेर तारिफ गरेका छन्। सिनेमामा विजयका अलाबा रास्मिका मन्दानाको मूख्य भुमिका रहेको छ। सिनेमाले एक विद्यार्थी नेताको प्रेमकथा पेस गर्छ।
सिनेमा हेरेपछि करणले यस्तो तारिफ गरेका छन्।
'डियर कमरेड हेर्ने पहिलो मौका पाउँदा खुशी छु। एकदमै शक्तिशाली र गहिरो प्रेमकथा। विजय र रस्मिकाले उत्कृष्ट काम गरेका छन्। सिनेमाले एकदमै प्रभाव छाड्दै सापेक्ष सन्देश दिन्छ। डेब्यू निर्देशकले भरत कम्माले बलियो निर्देशन गरेका छन्', करणले सिनेमाको प्रशंसा गर्दै लेखेका छन्।
सिनेमा विजय र रस्मिकाका अलावा श्रुति रामचन्द्रन, जयप्रकाश, ब्रम्हाजी, सिक्नया र राओ रमेशले मुख्य भूमिकामा अभिनय गरेका छन्।
ट्रेलर रिलिज भएदेखि नै दर्शकका लागि प्रतिक्षित बनेको यस सिनेमालाई करणको यस प्रशंसाले थप उर्जा दिएको छ।
स्वयं विजयले पनि सिनेमाबाट आफू उत्साहित रहेकाले जमेर सिनेमाको प्रचारमा लागेको बताइसकेका छन्। विजयले आफूलाई सिनेमा ठूलो हिट हुने विश्वास रहेको बताएका छन्।
अब करणको रिमेक बनाउने यस घोषणाले हिन्दी भाषी दर्शकमा उत्सुक्ता जगाउनेमा दुई मत छैन। सिनेमाको हिन्दी रिमेकमा को कलाकार रहनेछन् भन्ने बारेमा करणले हाल केहि सार्वजनिक गरेका छैनन्।
सिनेमा तेलेगु, तमिल, मल्यालकम र कन्नड गरी ४ भाषामा रिलिज हुँदैछ।