'कोलाबेरी डी' बाट संसारभर चर्चित बनेका भारतीय अभिनेता धनुषले आफ्नो फिल्मी चर्चालाई 'रांझना' सिनेमाको कुन्दन बनेर बलिउडमा पनि फैलाए।
साउथका यी सुपरस्टारको प्रेमजीवन पनि सिने पनि करियरजस्तै रोचक छ। धनुष आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन्।
हेर्दा अति नै साधारण देखिने धनुष कसरी लोकप्रिय सुपरस्टार रजनीकान्तको ज्वाईं बने भन्ने बारेमा चर्चा गर्नेछौं।
धनुषको वास्तविक नाम वेंकेटश प्रभु कस्तूरी राजा हो। उनी अभिनेतासँगै निर्माता, गीत लेखक तथा पार्श्व गायकसमेत हुन्। उनले 'आदुकलम' सिनेमाबाट सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार जितेका छन्।
हल्लाका कारण भएको थियो विवाह
सबैलाई थाहा छ, रजनिकान्तकी छोरी ऐश्वर्या धनुषकी पत्नी हुन्। तर धनुष र उनको बिहेको कथा भने बडो फिल्मी छ। उनीहरू सन् २००४ मा वैवाहिक सम्बन्धमा जोडिएका थिए।
उनीहरूबीच विवाह कसरी भयो भन्ने बारेमा धनुषले एक अन्तरवार्तामा खुलासा गरेका छन्।
'म मेरो 'काढाल कोंडे' सिनेमा हेर्न परिवारसहित गएको थिएँ। सिनेमा सकिएपछि सिनेमाहलका मालिकले मेरो भेट रजनीकान्त सरका छोरीहरू ऐश्वर्या र सोन्दर्यासँग गराए। तर त्यो दिनको भेट हाई हेलोमै सिमित भयो। त्यसको दोश्रो दिन विहान मैले ऐश्वर्यबाट एउटा बुके पाएँ। त्यसमा 'राम्रो काम, सम्पर्कमा रहिरहनुहोला' लेखिएको थियो', धनुषले सो अन्तरवार्तामा विवाह कसरी भयो भन्ने बारेमा खुलासा गर्दै भनेका थिए।
त्यसपछि के हुनु थियो र? दुबैले एकअर्कालाई भेटे। त्यो भेटले मिडियादेखि सिनेमा उद्योगमा दुबैको प्रेम रहेको व्यापक हल्ला फैलायो।
त्यसरी चलेको हल्लालाई दुबैले सुरूमा मत्थर गर्ने सोचेका पनि थिए तर पछि समाचार आयो- दुबै विवाह गर्दैछन्। त्यसरी विवाह हुँदा धनुष २१ वर्षका थिए भने ऐश्वर्या २३ वर्षकी थिइन्। हाल उनीहरूका २ बच्चा छन्।
र प्रेमको हल्ला फिल्मी शैलीमा अन्ततः विवाहमा परिणत भयो।