केहि दिन अगाडि भारतीय अभिनेता राहुल बोसले भारतको चण्डीगढस्थित पाँच तारे होटल जे डब्लु मेरियटले आफूसँग दुई वटा केराको लागि ४४२ रूपैयाँ भारूको बिल पठाएको उल्लेख गर्दै ट्वीटरमार्फत हैरानी व्यक्त गरेका थिए।
यस क्रममा उनले होटलले पठाएको बिल र केराको भिडियो सार्वजनिक गरेका थिए।
राहुलले महँगो मूल्यलाई लिएर गुनासो गरेको भए पनि उनले सार्वजनिक गरेको बिलका कारण होटलले सो बिलको ५० गुणा जरिमाना तिर्नुपर्ने भएको छ। होटलले अब जरिमाना बापत सरकारलाई २५ हजार भारू जरिमाना तिर्नुपर्ने भएको हो।
सो बिलबाट होटलले गरेको आर्थिक बदमासीको खुलासा भएपछि यस्तो भएको हो।
भारतको कानुन अनुसार ताजा फलफूल करमूक्त वस्तुमा पर्छ। तर राहुललाई दिइएको बिलमा उनीसँग सोका लागि करसमेत समावेश गरेर बिल दिइएको छ र यो गैरकानुनी हो।
भारतीय संचारमाध्यमहरूका अनुसार घटनापछि सरकारले होलटको बिक्रीसम्बन्धी दस्तावेज जाँचका लागि जफत गरेको छ। कर विभागले अब ती दस्तावेजमाथि जाँच गर्नेछ। त्यस्तै होटललाई अधिक बिलका बारेमा पनि स्पष्टिकरण सोधिएको छ।