किशोर कुमारलाई गायनमा कुनै परिचयको आवश्यक्ता छैन। सुनौलो आवाजका धनी उनी गायकका अलवा अभिनेतासमेत हुन्।
अगस्ट ४ आजकै दिन उनको जन्म भएको थियो। बलिउडका गीतमा नयाँ नयाँ प्रयोगका लागि परिचित किशोर कुमार बलिउड सिनेमा संगीतका शदाब्दी गायक हुन्। जति उनको गायनको चर्चा हुन्छ त्यति नै भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँगको टकराव उत्तिनै बिर्सन नसकिने घटनाक्रम हो।
किशोर कुमारको जन्म ४ अगस्ट सन् १९२९ मा एक बंगाली परिवारमा कान्छा छोराको रूपमा भएको थियो। सो परिवारले आफ्नो कान्छा छोराको नाम आभास कुमार गांगुली राखेको थियो। उनै आभाष कुमार पछि गएर महान गायक किशोर कुमारको नामले चर्चित भए।
करियरको सुरूवात
सन् १९६९ निर्माता निर्देशक शक्ती सामन्ताको सिनेमा 'आराधना'ले किशोर कुमारलाई संगीतको दुनियाँको राजा बनायो। यो सिनेमाका 'मेरो सपनों की रानी कब आएगी तू' र 'रूप तेरा मस्ताना' जस्ता रोमान्टिक गीतले उनलाई रातारात मानिसहरूको मनमुटुमा बसाइदियो। 'रूप तेरा मस्ताना'बाट उनले गायनको फिल्म फेयर अवार्ड नै उचाले।
इन्दिरा गान्धीसँग टकराव
भारतीय राजनीतिमा इन्दिरा गान्धीको शासनकाल भारतीय जनताका लागि दुःख लाग्दो भयो। उनकै शासनकालमा भारतले संकटकाल, भारत-पाक युद्ध, पाकिस्तानबाट बंगलादेशलाई छुट्टाउने तथा शक्तिको केन्द्रिकरणका लागि चर्चित र विवादित रहिन्।
आफ्नो राजनैतिक कदमको समर्थनका लागि उनले बलिउडलाई समेत हतियार बनाइन्। यसैक्रममा उनको प्रपोगान्डाको मोर्चा सम्हालिरहेका विद्या चरण शुक्लाको तर्फबाट किशोर कुमारलाई फोन गरियो।
फनमा उनलाई किशोर कुमारलाई इन्दिरा गान्धीको संकटकालका २० सुत्रिय कार्यक्रमका लागि बनाएको गीतमा आवाज दिन आग्रह भयो।
किशोरले फोन गर्ने ती व्यक्तिलाई 'यो गीत किन गाउने?' भनेर सोधे। किशोरलाई जवाफ दिइयो- यो सूचना तथा प्रसारण मन्त्री बिसी शुक्लाको आदेश हो।
आदेश भन्ने सुन्ने बित्तिकै किशोर कुमार भड्किए र फोन गर्नेसँग कड्किए- पागल सा... भाग।
यसपछि इन्दिरा गान्धीले किशोर कुमारका गीतलाई प्रतिबन्ध लगाइदिइन्। यतिमात्र होइन किशोर कुमारका गीतको बिक्रीवितरणमा समेत प्रतिबन्ध लगाइयो।
यस्ता किशोर कुमारले सन् १९८७ मा सिनेमाबाट संन्यास लिदैं आफ्नो पुर्ख्यौली गाउँ खंडवा फर्किने निर्णय गरे तर लेखान्तमा अरू नै लेखिएको थियो। सोही वर्षको १३ अक्टुवरमा उनको हृदयघातबाट निधन भयो।