शुक्रबार परिणीति चोपडा तथा सिद्धार्थ मल्होत्रा स्टारर 'जबरिया जोडी' रिलिज हुँदैछ।
सिनेमा बिहारमा प्रचलित 'पकड्वा विवाह'मा आधारित रहेको छ। यस विवाहमा केटाको अपहरण गरेर जबरदस्ती विवाह गराइन्छ। सिनेमाले यसै विषयलाई हास्य रसमा पस्किनेछ।
सुपरहिट डेब्यूपछि फ्लप सिनेमा दिइरहेका सिनेमाका यी दुई मुख्य कलाकारका लागि सिनेमाले विशेष अर्थ राख्छ। यस सिनेमाले उनीहरूको धर्मराइरहेको बलिउड करियरलाई लय प्रदान गर्ने आशा राखिएको छ।
सिनेमा हिट भएमा मातर् उनीहरूलाई फाइदा हुनेछ। उनीहरूका समकालिनहरूले करियर उकालो चढाइरहेका अवस्थामा सिनेमा हिट हुनु उनीहरूका लागि आवश्यक भएको हो।
सिद्धार्थले वरूण धवनसँग करियर सुरू गरेका थिए तर उनले वरूणको जस्तो लोकप्रियता बटुल्न सकेका छैनन्।
सन् २०१६ मा रिलिज भएको 'कपुर एण्ड सन्स' यसता उनका सिनेमाले खासै राम्रो गरेका छैनन्। 'बारबार देखो', 'ए जेन्टलम्यान', इत्तेफाक', 'अय्यारी'ले ठीकै मात्र व्यापार गरेका छन्। ९ वर्षे करियरमा उनले डेब्यू सिनेमा 'स्टुडेन्ट अफ द इयर'को जस्तो सफलता देखेका छैनन्।
शुक्रबार रिलिज हुने सिनेमामा उनले बिहारी ग्याङ्स्टरको भूमिका निभाएका छन् जसको काम दुलाहालाई अपहरण गर्नु हो।
त्यस्तै अवस्था परिणीति चोपडाको छ। प्रेम बिछोडका कारण केहि समय आफ्नो करियरमा ध्यान दिन नसकेकी परिणिति यसै सिनेमाबाट लयमा फर्किन चाहन्छिन्। यस साता सोलो रिलिज पाएकाले त्यसको फाइदा आफूलाई मिलोस भन्ने आशामा उनी रहेकी छन्।