दक्षिण भारतीय सिनेमा 'बाहुबली' सिरिजले भारतको सबैभन्दा ठूलो र संसारको ठूलो मध्येको एक बलिउडलाई हेरेको हेर्यौं बनाइदियो। बलिउडले नआँकेको बजेटमा एसएस राजमौलीले स्वरैकल्पनाको सिनेमा बनाएर चकित पारिदिए।
प्रभास रातारात स्टार बने। सय, दुई सय करोड बक्सअफिसको आँकडामा रमाइरहेको बलिउडलाई झण्डै २ हजार करोड भारू बराबरको विश्वव्यापी व्यापार देखाइदिए।
सिनेमाको पहिलो भाग आउँदा बलिउडको खासै चासोमा नपरेको सिनेमा दोश्रो भागसम्म आइपुग्दा बलिउडको प्रमुख चर्चाको विषय बन्यो।
सिनेमाको हिन्दी डबका वितरक बनेका थिए- करण जोहर। आफ्ना प्रेककथा सिनेमाको निर्देशन र निर्माणका लागि कहलिएका करणले त्यसपछि आफू पनि हौसिए र पछिल्लो समय ठूला बजेटका सिनेमामा आफूलाई संलग्न गराउन थालेका छन्।
यसै वर्ष उनले करिव १५० करोड भारूको लागतमा तयार गरेको 'कंलक' रिलिज गरे तर सिनेमा व्यवसायिकरूपमा असफल भयो। सिनेमाले १४५ करोडमात्र कमाउन सक्यो।
सो सिनेमाबाट केहि निराश भएपनि उनले हिम्मत हारेका छैन। हाल उनी ३ भाग लामो 'ब्रम्हास्त्र' नामक सिनेमा बनाइरहेका छन्। सिनेमामा रणवीर कपुर र आलिया भट्टले मूख्य भूमिकामा छन्।
अयान मुखर्जीको निर्देशन रहने सिनेमाको बजेट पनि ठूलै छ। सिनेमाको बजेट हाल करणले अनुमान गरेभन्दा ५० प्रतिशत भन्दा बढिले बढेको छ।
सिनेमाको पहिलो भागका लागि सय करोड भारूसम्म खर्च गर्ने सोचेका करणको सिनेमाको बजेट हाल १५० करोड भारू पुगिसकेको बताइन्छ। सिनेमाको बजेट भिएफएक्सका कारण अझै माथि पुग्ने अनुमान गरिएको छ।
सिनेमाको बढ्दो बजेटका कारण धेरै करणले मोलेको खतराबाट तर्सिएका छन्। करण सिनेमाको बजेट बढेपनि सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने सोचमा छन्।
यस्तो हुनुको कारण सिनेमाका निर्देशक अयान मुखर्जीलाई मानिएको छ। अयानले यसअघि 'वेक अप सिद', र 'ए जवानी है दिवानी' बनाएका थिए। दुबै सिनेमा वक्सअफिसमा सफल थिए। करणको ठूलै भर आयनसँग छ।
त्यस्तै सिनेमाका जोडी आलिया र रणवीर पनि सिनेमाका मूख्य हतियार भएकाले करणले कुनै सम्झौता गर्न नचाहेको बताइन्छ।
अब यस्तोमा सिनेमाले कस्तो स्तरमा आफूलाई प्रस्तुत गर्छ, त्यो रिलिजपछि स्पष्ट हुनेछ। सिनेमा थ्रिड तथा आइम्याक्समा पनि रिलिज हुनेछ।