केहि समय अगाडि कंगना रनौट स्टारर 'जजमेन्टल है क्या' रिलिज भएपछि बलिउड अभिनेत्री तप्सी पन्नुले ट्रेलरको तारिफ गरिन्।
त्यस क्रममा उनले कंगनाको नाम भने उच्चारण गरिनन्। त्यसपछि ट्वीटरमा चर्को आलोचना गर्ने भनेर चिनिएकी कंगनाकी बहिनी रंगोलीले तप्सीलाई अशब्दहरूको प्रयोग गर्दै गाली गरिन्।
त्यसअघि पनि रंगोलीले तप्सीलाई कंगनाको 'सस्तो कपी' भएको ट्वीटरमा लेखेकी थिइन्।
रंगोलीका यी तमाम अपमानको बारेमा तप्सीले कुनै जवाफ फर्काइनन्।
तर हाल आफ्नो आगामी रिलिज 'मिसन मंगल'को प्रचारमा रहेकी तप्सीले त्यसको जवाफ दिएकी छन्।
उनले आफ्नो जीवनमा महत्व नराख्ने व्यक्तिका भनाइका कारण आफ्नो रक्तचाप नबढाउने बताइन्।
'मान्छेहरू ट्विटरमा के भन्छन्, त्यसले मलाई किन फरक पार्नुपर्यो? नजिकका मान्छेले यस्तो गरेको भए, मलाई दुःख लाग्थ्यो', उनले भनिन्, 'उनी आफ म सबैभन्दा धेरै पारिश्रमिक लिन्छु, भन्छिन्। उनीहरूको हिसाबले म धेरै सस्तो छु, कपी हो भनेर त पहिले नै भनेका हुन्। त्यसैले मलाई यसले केहि फरक पर्दैन।'
त्यसैगरी उनले कंगनालाई एक अभिनेत्रीका हिसाबले सँधै सम्मानभावले हेर्ने गरेकोमा पछिल्ला घटनाक्रममले त्यो तस्वीर आफूबाट हटेको उल्लेख गरिन्।
'म एक अभिनेत्रीका हिसाबले उनको कामको सर्हाना गर्छु। मेरो नजरमा उनी धेरै माथि थिइन्, म उनको खरोपन र अभिनयबाट धेरै प्रभावित थिएँ', उनले भनिन्, 'तर ट्विटरमा जसरी मलाई अपशव्द प्रयोग गरियो, त्यसपछि मेरो नजरबाट उनको त्यो पुरानो छबि हरायो। अब उनले के भन्छिन्, मलाई वास्तवमै फरक पर्दैन।'
उनले ट्वीटर प्रकरणमा कंगनासँग माफी नमाग्ने पनि स्पष्ट संकेत गरिन्।
'कंगनाले ट्वीटर प्रकरणमा मैले माफी मागूँ भनेर चाहेकी हुन् भने म यो स्पष्ट पार्छुकी मलाई मेरो ट्विटलाई लिएर कुनै पछुतो छैन। किनकी मैले कसैलाई पनि गलत भनेको छैन्, जसका लागि मैले माफी माग्नुपरोस्।'