शुक्रबारबाट रिलिज भएको 'जबरिया जोडी'की अभिनेत्री परिणीति चोपडाले पैसा नहुँदा ६ महिनासम्म घरबाट बाहिर ननिस्किएको खुलासा गरेकी छन्।
‘त्यो समयमा मसँग खाना खान समेत पैसा हुँदैन थियो । पुरै समय सुतेर बिताउथे । त्यो बेला मेरो कोही साथी थिएनन । यहाँसम्म कि मेरो परिवारसँग पनि सम्पर्क हुँदैन थियो । म एक्लै रोएर बस्थें । टीभी हेर्थे अनि सुत्थें', उनले भनिन्, 'म लगभग डिप्रेस भइसकेको थिए । यस समयमा मलाई मेरो भाई सहज र साथी सन्जनाले साथ दिएका थिए । २०१६ सुरु हुने बित्तिकै मेरो अवस्थामा परिवर्तन हुन थाल्यो । त्यहिँ वर्ष मैले ‘गोलमाल ४’ र ‘मेरी प्यारी बिन्दु’ जस्ता सिनेमा साइन गरें।’
उनले 'किल दिल' र 'दावत-ए-इश्क' जस्ता सिनेमा नचलेपछि उनले काम पाउन छाडेको र भएको पैसा एउटा घरमा लगाएकाले उनीसँग पैसा नभएको उनले बताइन्।
‘फिल्म ‘किल दिल’ र ‘दावत–ए–इश्क’ले बक्स अफिसमा राम्रो प्रर्दशन गरेन । मैले एउटा घरमा पैसा लगाएको थिए । त्यतिबेला मेरो सबै पैसा सकिसकेको थियो', उनले भनिन्, 'यो मेरो जीवनको सबै भन्दा नराम्रो क्षण थियो । आफ्नो जीवनलाई अगाडि बढाउनको लागि मसँग कुनै सकारात्मक चीज थिएन ।’
करियरको सुरूवातमा आफ्नो नीजि जीवनका कुराहरूलाई सार्वजनिक नगरेकी परिणीतिले यसपटक भने आफ्नो बारेमा खुलेर कुरा गरिरहेकी छन्। केही समय पहिला पनि उनले आफूले प्रेममा धोका खाएपछि आफू निराश बनेको बताएकी थिइन्।