विश्व सुन्दरी हुँदै बलिउड छिरेकी अभिनेत्री प्रियंका चोपडा हाल हलिउडमा सक्रिय छिन्। हलिउडमा सक्रिय भएपनि उनले भारतीय सिनेमालाई चटक्कै माया मारेकी छैनन्।
विभिन्न क्षेत्रिय भाषाका सिनेमा निर्माण गर्दै उनी भारतीय सिनेमासँग जोडीराखेकी छन्। उनको निर्माण कम्पनीले भारतका विभिन्न क्षेत्रिय भाषाका सिनेमा निर्माण गरिरहेको छ।
हालै उनले निर्माण गरेको मराठी सिनेमा 'पाणी'ले भारतको राष्ट्रिय फिल्म पुरस्कार जितेको छ।
उनको यस सिनेमाले 'वातावरण संरक्षण' विधामा राष्ट्रिय पुरस्कार जितेको हो। सिनेमाले अवार्ड जितेपछि प्रियंकाले निर्देशक आदिनाथ कोठारे तथा सिनेमा निर्माण समूहलाई बधाई दिएकी छिन्।
'आदिनाथले यस सिनेमाबाट निर्देशनमा हात हालेका छन्। मलाई यसलाई बुझ्ने दबाब उनीमाथि हुनेछ भन्ने थाहा थियो र अन्तिममा हाम्रो परिश्रमले राष्ट्रिय पुरस्कार आफ्नो नाममा गरेको छ। मलाई आदिनाथ र उनको रचनात्मक टोली तथा पर्पल पिक्चर्सको टोलीप्रति गर्व छ। हाम्रो कडा मेहेनतको पहिचान गर्दै 'पाणी'लाई वातावरण संरक्षण विधामा सर्वोत्कृष्ट सिनेमाको पुरस्कार दिइएको म जुरीप्रति आभारी छु', पुरस्कार जितेपछि प्रियंकाले भनिन्।
प्रियंकाले वास्तविक कथा बनाउनका लागि आफूले सिनेमा कम्पनी खोलेको बताउँदै कम्पनीको उदेश्य मानिसहरूलाई मनोरञ्जनसँगै स्थानियहरूको कथा बताउनु रहेको बताइन्।
'हामी ती मुद्दामा कुरा गर्न चाहन्थ्यौं, जसको सामना हामीले आज गरिरहेका छौं। 'पाणी' त्यही सिनेमा हो', उनले भनिन्।
यसअघि प्रियंकाले निर्माण गरेको मराठी सिनेमा 'वेन्टिलेटर'ले सन् २०१६ मा ३ वटा राष्ट्रिय पुरस्कार जितेको थियो।