पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनौट आफ्ना विवादित बयानका कारण चर्चामा छाइरहेकी छिन्।
आफू अभिनित, निर्मित तथा निर्देशित 'मणिकर्णिका'लाई बलिउडले सरहाना नगरेको भन्दै उनी बलिउड स्टारहरूमाथि लगातार खनिदैं आइरहेकी छन्।
अभिनयका लागि ३ पटक राष्ट्रिय अवार्ड जितिसकेकी कंगनाले बलिउडमा प्रतिभाको कुनै महत्व नभएको धारणा राखेकी छन्।
केहि समय पहिले कंगनाले सिनेमा उद्योगभन्दा बाहिरबाट आउने युवतीहरूको शोषण हुने आरोप लगाएकी थिइन।
उनले बलिउडमा परिवारवाद हाबी रहेको बताउँदै उनीहरूले बाहिरबाट बलिउडमा भविष्य खोज्दै आउनेहरूलाई टिक्न नदिने गरेको बताएकी थिइन्। यस्तै बलिउडमा परिवारवादको जरा गहिरोगरी गाडिएको र यसलाई प्रश्रय दिने 'सिने-माफिया'हरूको पर्दाफास हुन जरूरी रहेको धारणा उनको छ।
त्यसपछि पनि कंगनाले आफ्नो आवाजलाई कम गरेकी छैनन्। हालै दिएको एक अन्तरवार्तामा सुरूसुरूमा आफूसँग भएको क्षमतालाई प्रमाणित गरेपछि सबै कुरा हुन्छ भन्ने सोच आफूमा रहेको भएपनि वास्तव त्यसले मात्र काम नगर्ने बुझेको बताएकी छन्।
'सुरूमा आउँदा मलाई क्षमता नै सबै कुरा हो, बस आफूलाई प्रमाणित गर्न सक्नुपर्छ लाग्थ्यो। मैले धेरै कुरा गरें, आफ्ना लागि बाटो बनाउन खुबै संघर्ष गरें', उनले भनिन्, 'मैले फिल्म मेकिङ, स्क्रिप्ट लेख्न सिकें। यी सबै मैले क्षमता नै सबैथोक हो भनेर गरेकी थिएँ। जब मैले यी सब गरेर आफ्नो प्रतिभा निखारे तब मैले महशुस गरे यो उद्योगमा त प्रतिभाको कुनै महत्व नै रहेनछ।'
कंगनाले बलिउडमा सत्ताको राजनीति गर्ने र खेल खेल्नेहरूले आफ्नो सम्बन्ध र साना माफियाहरूको सहयोगमा एउटा सानो जाल फैलाएको हुने बताइन्।
उनीहरूले एकअर्कासँग मिलेर काम गर्ने बताउँदै उनले त्यसलाई तोड्न कडा कदम उठाउनुपर्ने भनाइ राखिन्।
'यसलाई तोड्न मैले मेरो रोजाइ अनुसारका मानिसहरू बनाएँ किनकी मलाई मैले पाउनुपर्ने कुरा पाउनुपर्छ जस्तो लाग्थ्यो। कहिलेकाँही त्यसलाई तपाईं आफैले हासिल गर्नुपर्छ', उनले भनिन्।